शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

महिला भलिबल खेलाडीलाई मन्त्री मनाङ्गेले गरे सम्मान

दैनिक नेपाल २०७८ पुष २० गते ८:२९

पोखरा, २० पुस । एसिएन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।

गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा हिजो सोमबार आयोजित एक कार्यक्रममा टीम क्याप्टेन अरुणा शाही, उषा भण्डारी, शान्तिकुमारी थारु र सोफिया पुनलाई प्रतिव्यक्ति रू. ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । चारैजना खेलाडीले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए ।

उनीहरुलाई यूवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले सम्मान गरे ।

कार्यक्रममा बोल्दै यूवा तथा खेलकुदमन्त्री राजीव गुरुङले खेलाडीहरुले उपाधि जितेर देशको शिर उचो राख्ने काम गरेको बताउँदै मन्त्रालयले सदैव खेलाडीहरुको हकहितमा काम गर्ने बताए । आगामी बजेटमा खेलकुुदलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

परिषद्का सदस्यसचिव गुरुङले भलिबल नेपालको निकै लोकप्रिय खेल भएको उल्लेख गर्दै खेल संस्कृतिको अभिवृद्धिमा आफूहरुको जोड रहेको बताए । उनले उज्वेकिस्तान जस्तो बलियो टिमलाई हराएर उपाधि जित्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गरे ।

उनले नवौं राष्ट्रिय खेलकुदमा पनि उपाधि जित्ने उद्देश्यका साथ अभ्यास गर्न खेलाडीहरुलाई आग्रह गरे । त्यस्तै टिम क्याप्टेन शाहीले सम्मानले आफूहरुलाई हौसला मिलेको तर यतिले मात्र पर्याप्त नहुने भएकाले सरकारले खेलाडीहरुको वृत्ति विकाशका लागि अझै लगानी गर्नुपर्नेमा जोड दिइन् ।

गत मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित