शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

टोटेनहमको रोमाञ्चक जित, माइकोलेन्को एभर्टनमा अनुबन्धित

दैनिक नेपाल २०७८ पुष १८ गते ८:४३

काठमाडौं, १८ पुस । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनहम हटस्परले रोमाञ्चक जित निकालेको छ ।

टोटेनहमले घरेलु टोली वाट्फोर्डलाई १–० ले पराजित गरेको हो । खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै वाट्फोर्डमाथि दवाव बढाएपनि टोटेनहमले गोलको लागि निकै संघर्ष गर्नुपर्दा इन्ज्युरी समय नै कुर्नुपरेको थियो ।

इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा रहेको छ । अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । वेस्ट ह्यामको जितमा म्यानुयल लान्जिनीले दुई तथा मिचेल एन्टेनियोले एक गोल गरे । घरेलु टोलीका ओड्सोनी इडुआर्ड र माइकल ओलिसीले गोल गरे ।

माइकोलेन्को एभर्टनमा अनुबन्धित

यसैबीच इंग्लिस क्लब एभर्टनले युक्रेनी युवा लेफ्टब्याक भिटाली माइकोलेन्कोलाई अनुबन्धित गरेको छ । एभर्टनले जनवरी ट्रान्सफरमा भिटालीलाई युक्रेनी क्लब डेनामो किएभबाट अनुबन्धित गरेको हो ।

एभर्टनले २२ वर्षीय भिटालीलाई ४ वर्ष ६ महिनाका लागि अनुबन्ध गरेको हो । उनी सन् २०२६ को समरसम्म एभर्टनमा रहनेछन् । उनको अनुबन्ध रकम खुलाइएको छैन । सेन्टर ब्याकबाट पनि खेल्न सक्ने क्षमता राख्ने भर्सटाइल डिफेन्डर माइकोलेन्कोले युक्रेनको राष्ट्रिय टोलीबाट २१ क्याप जितिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित