८ कार्तिक २०८३, आइतबार

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन माग गरिएको छ ।

हिजो शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसको रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।

सो अवसरमा पूर्वमन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘पृथ्वीनारायण शाह प्रति ऋणी भएको भन्दै नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकुल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वी नारायण शाहले पूरा गर्न नदिएको बताए ।

नेपालको राज्यलाई एकीकरण गरेर आज हामीले एउटा सिंगो देश पाएको पनि उनले सुनाए । ‘यो सार्वभौम सम्पन्न देश नेपाल हो, नेपाली जनताको उन्नती सुख र समृद्धी, सिंगो नेपालको उन्नतीको लागि विकास गरिदिने पृथ्वीनारायण शाह प्रति सबै नेपाली आभारी हुनु पर्छ,’ उनले भने ।

त्यस्तै पूर्वमन्त्री मोदनाथ प्रश्रितले अनेक जातजातिमा बाँडिएका देश नेपाललाई एकिकृत गरेर पृथ्वीनारायण शाहले पुर्व देखि पश्चिमसम्म चट्ट मिलेको देश निर्माण गरेको बताए । धेरै टाकुराले बनेको देश नेपाल हो भन्दै आफुले पाएको एउटा टाकुराको जिम्मेवारीले पनि पृथ्वीनारायण शाहले सिंगो देश बनाएर नेपाली जनतालाई गुण लगाएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता बिपिन कोइरालाले राष्ट्रिय विभूती, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै विदेशीको हातमा पर्न नदिएर देशलाई जोगाएको स्मरण गराए । उनले भने, ‘देशलाई अंग्रेजको हातमा पर्न नदिएर टुक्रा–टुक्रा राज्यलाई जोडेर पृथ्वीनारायण शाहले देश एकिकरण गर्नुभएको हो ।’

त्यसैगरी परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एकमात्र व्यक्ति भनेको राष्ट्रपिता पृथ्वीनारायण शाह नै भएको जिकिर गरे । एमसीसीलाई पास गर्न दिन नहुने उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुस २७ गते सार्वजनिक विदा नदिए देउवाकै घरमा खुर्पा लिएर भएपनि बिद्रोह गर्ने दिन नओस् । कुनै हालतमा बिदा दिनै पर्छ ।’

त्यस्तै राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको जन्म र एकता दिवसको आयोजना जुटाएकोमा खुशी लागेको बताए । पृथ्वीनारायण शाह, एकिकरण र एकताको शब्द एकआपसमा जोडिएको उनका भनाई थियो । यो राष्ट्रिय विषयको रूपमा उठिरहेको पनि उनले बताए । पुस २७ गते एकता दिवस मनाउनु पर्छ भन्ने नेताहरू नै धेरै पटक मन्त्री भएको तर मन्त्री भएपछि सबै बिर्सिएको आरोप लगाए ।

उनले भने, ‘मुख्य कुरा दिवस भन्दा पनि मर्म र त्यसले दिएको सन्देश हो । त्यसले दिने संकोचलाई जनमानसमा लान नसकेको कारण आज देशको अवस्था यस्तो भएको छ ।’ कुनै पनि मानिस मानिस नभई राजनीतिक दलको पहिला हुनेमा दुःख लाग्ने बताउँदै भने, ‘हरेक कुरालाई सामाजिकीरकण गर्नुहुँदैनथ्यो । सबै दलमा मात्र देखिए ।’

५१ प्रतिशत महिलालाई कमजोर रूपमा राखेर राष्ट्रियतनको कुरा गर्न सम्भव नभएको उनको भनाई थियो । देश भुगोलको रूपमा एकिकरण भएपनि देशका मानिसहरू भावनात्मक रूपमा एकतामा बाधिन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘यही कारणले गर्दा आज देशमा विदेशीहरू हावी भएका छन् । यही जगबाट ०६२÷०६३ को आन्दोलन भएका छन् । नयाँ व्यवस्थाले नेपाली जनताहरूले केही पाएका छैनन् ।’

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य रोहितप्रसाद पौडेलले पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते सभ्य र भव्य रूपमा मनाउने बताए । उनले वीर अस्पतालमा जम्मा भएर सिंहदरबार जाने कार्यक्रम रहेको पनि जानकारी दिए । पृथ्वी नारायण शाहको जन्म ३ सय वर्ष बितिसक्दा पनि राज्यले राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएकोमा उनले दुःख व्यक्त गरे ।