
बागलुङ, १७ पुस । नेकपा एमालेको आसन्न नवौं जिल्ला अधिवेशनका लागि आज जिल्लाका सबै वडा तथा जनवर्गीय संगठनबाट प्रतिनिधि चयन हुदैछन् ।
जिल्ला अधिवेशनका लागि पुस १६ गते सबै वडामा एकैसाथ प्रतिनिधि चयन गर्न जिल्ला कमिटिले निर्देशन गरेको थियो । यसैबीच जिल्लामै एमालेको गढका रूपमा परिचित काठेखोला गाउँपालिका–७ रेशबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
खुल्ला तर्फ ८ जना, महिला तर्फ ३ जना, दलित महिला र खुल्लातर्फ ३ जना गरी १४ जना प्रतिनिधि चयन भएको एमाले रेशले जनाएको छ । खुल्लातर्फ रामबहादुर जिसी, भूमिराज गौतम, तोपबहादुर कार्की (कृष्ण), अमर बहादुर थापा मगर, बद्रीप्रसाद गौतम, डिलबहादुर कार्की, भक्तबहादुर कुँवर र कृष्ण थापा चयन भएका छन् ।
त्यस्तै महिलातर्फ हुमाकुमारी सीसी (अञ्जु), विष्णु गुरुङ र कमला क्षेत्री प्रतिनिधिमा छनोट भएका छन् । त्यसैगरी दलित महिलामा रूपा किसान र दलिततर्फ सुजन नेपाली तथा चित्रबहादुर विक चयन भएको एमाले रेशका अध्यक्ष भूमिराज गौतमले जानकारी दिएका छन् ।
वडा कमिटीको बिहीबार सम्पन्न वैठकले प्रतिनिधि चयन गर्नाका साथै जिल्ला अधिवेशनमा रेशबाट पदाधिकारीमा उमेदवारी दिने निर्णय गरेको हो । एमालेको गढका रूपमा परिचित रेशबाट जिल्ला अधिवेशनमा केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका पूर्वसदस्य रामबहादुर जीसीलाई जिल्ला उपाध्यक्षमा उमेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।
२०४८ सालदेखि नै रेश एमालेको गढका रूपमा स्थापित छ । शुरूदेखि अहिलेसम्म जनमतको हिसावले एमालेका उमेदवारलाई सबैभन्दा बढी मत आउने रेशबाट जिल्लाको नेतृत्व गर्न पाउनु पर्ने निष्कर्षका साथ जीसीलाई उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरिएको अध्यक्ष गौतमको भनाइ छ । रेशबाट पार्टीको जिल्ला नेतृत्व मात्रै होइन, ३० वर्षको समयसम्म कुनै पनि राजकीय पदमा समेत जिम्मेवारी प्राप्त नभएको उनले बताएका छन् ।
रेशको जनमतको सम्मानका लागि पनि जिल्लाभरबाट आउने प्रतिनिधिहरूले रेशको तर्फबाट उमेदवार बन्ने जिसीलाई मत दिएर विजयी बनाउने विश्वासका साथ उमेदवार बनाउन लागिएको उनले बताए ।















प्रतिक्रिया