
काठमाडौं, १७ पुस । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ को हिजो शुक्रबार विशेष कार्यक्रमकाबीच समापन गरेका छन् ।
सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित कुल ५ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ बिजयी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ का बिजयी सो टीमलाई ट्रफी तथा ५० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरे । सोही अवसरमा उनले टीम तथा खेलाडीहरूलाई पदक तथा पुरस्कार समेत प्रदान गरे ।

सो समारोहमा महानिरीक्षक खनालले संगठनभित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न समेत यो प्रतियोगिता फलदायी रहने बताएका छन् । खेलकुदले सामूहिक भावनाको विकास गर्ने तथा मानसिक एवम् शारिरीक रूपमा स्वस्थ्य रहन खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘व्यक्तिगत स्वार्थलाई थाती राखेर जनताको सेवा, सुरक्षा र भरोसाको केन्द्र बन्न सुरक्षाका साथै राष्ट्रको गौरव बढाउन खेलकुद पनि एक उत्कृष्ट माध्यम हो ।’
उनले उच्च हिमाली भेगदेखि पहाड र तराईका आम नागरिकहरूको सुरक्षा गर्ने जिम्मा हामी सुरक्षाकर्मीहरूको काँधमा रहेको हुनाले प्रत्येक तह र तप्काका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले एउटा अभिभावकीय भूमिका निर्वाह गरी वर्तमान समयमा गरेका कार्यहरूको सकारात्मक परिणामलाई निरन्तरता दिदै आउदो पिँढीलाई समेत यो संस्कार दिनुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही पौष १२ गतेदेखि संचालन भएको थियो । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरू समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरूका एक–एक टीम गरी कुल नौ वटा टीमको सहभागिता थियो । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ को शुक्रबार भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बिजयी भएको छ । सो बाहिनीले सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयलाई ३–० ले पराजित गरी फुटबलतर्फको उपाधि हात पारेको हो ।

यसैगरी बिहीबार सम्पन्न भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयलाई २५–१७, २२–२५, २३–२५, २५–१६ र १५–१२ ले पराजित गरी विजयी भएको हो ।






























प्रतिक्रिया