शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा एमाले नेताहरूको जोड

‘दुई जना खेलाडीसँग २० जना अफिसियल जाने प्रचलन अन्त्य गरिनुपर्छ’

दैनिक नेपाल २०७८ पुष १६ गते ९:१३

काठमाडौं, १६ पुस । नेकपा एमालेका विभिन्न तहका नेताहरूले खेल क्षेत्रलाई राज्यले राम्रो बजेटसहित उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

खेलकुदले देशको आत्मविश्वास, राष्ट्रिय एकता र पहिचानका लागि ठूलो सामर्थ्य प्रदान गर्ने भन्दै उनीहरूले नेपालमा खेलकुदको विकासका लागि जोड दिएका हुन् । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघले खेल क्षेत्रका नेताहरूलाई सम्मान तथा बधाई प्रकट गर्न हिजो बिहीबार आयोजिक कार्यक्रममा सहभागी नेताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष एवम् प्रदेश–१ खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले अग्रज नागरिक जस्तै खेलाडीहरूलाई पनि आजीवन भत्ताको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि भानुभक्त ढकालले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने जिकिर गर्दै पछिल्लो टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी खेलको व्यवस्थापनमा अख्तियार दुरूपयोग भएको धारणा व्यक्त गरेका छन् । आगामी दिनमा दुई जना खेलाडीसँग २० जना अफिसियल जाने प्रचलनको अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा महासंघका इञ्चार्ज गोकुल बास्कोटाले खेलकुदले देशको आत्मविश्वास, राष्ट्रिय एकता र पहिचानका लागि उठ्न सक्ने सामथ्र्य प्रदान गर्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै महासंघका संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेलले खेलकुदमा बजेटको वृद्धि गर्दै खेलाडीहरूको व्यावसायीकरणमा जोड दिएर कुल बजेटको कम्तीमा ५ प्रतिशत पुर्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापाले स्पोर्टस एकेडेमी निमार्णमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष रमेस पौडेलले नेपालमा खेलकुदको विकासका लागि खेलकुद नीति आवश्यक रहेको भन्दै खेलाडीहरूको अनिवार्य बीमा गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी राखेपका सदस्यसचिव रमेश सिलवालले खेलकुदमा राजनीतिकरण हुननहुने धारणा व्यक्त गर्दै खेलकुद सबै दलको प्रमुख एजेन्डा बन्नुपर्नेमा जोड दिए । नेपाललाई खेलकुदको अन्तर्राष्ट्रिय हब बनाउन सकिने धारणा उनको छ ।

प्रतिक्रिया
सम्बन्धित