
बर्दिया, १४ पुस । बारबर्दिया–१० वैदीस्थित जनसेवा माध्यमिक विद्यालयले संस्थापक प्रधानाध्यापक सगुनलाल चौधरी र पूर्व शिक्षक भीमबहादुर चौधरीको सम्झनामा बारबर्दिया स्तरीय प्रतियोगितात्मक शैक्षिक प्रर्दशनी कार्यक्रम २०७८ को आयोजना गरेको छ ।
२०५८ साल पुसमा तत्कालीन दश वर्षे युद्धका बेला संस्थापक प्रधानाध्यापक र शिक्षक चौधरीलाई राज्य पक्षले बेपत्ता पारेको थियो । उनीहरूको सम्झनामा हरेक बर्ष विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा तहगत रूपमा गणित शैक्षिक सामग्री र विज्ञान शैक्षिक सामग्री प्रर्दशनी गरिएको थियो ।
शैक्षिक प्रदर्शनीमा पानी जहाज र रोवर्ट, डोजर हेर्न विद्यार्थीहरूको आकर्षित भएका छन् । स्थानीय सामग्रीहरूको प्रयोग गरेर विद्यार्थीहरूले नै निर्माण गरेका शैक्षिक सामग्रीहरूको प्रर्दशनले शिक्षकहरूलाई कक्षाकोठामा शिक्षण सामग्रीको प्रयोगलाई प्रोत्साहन गरेको छ ।
शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरीने शैक्षिक सामग्रीहरू विद्यार्थी स्यवम्ले निर्माण गरेर प्रदर्शन गरेका थिए । मेलामा २९ ओटा विद्यालयहरू सहभागी रहेका थिए भने ३४ ओटा स्टलहरूमा शैक्षिक सामग्रीहरू राखिएका थिए । शैक्षिक मेला अवलोकनका लागि बारबर्दिया, बाँसगढी, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकाका शिक्षक र विद्यार्थीहरू आएको जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए ।

शैक्षिक प्रर्दशनीमा विद्यार्थीहरूले स्थानीय वस्तु र स्रोत साधनको प्रयोग गरेर विभिन्न सामग्रीहरू निर्माण गरेका थिए । विद्यार्थीहरूले पानी जहाज, सोलर सिस्टमबाट चल्ने पानी जहाज, जे सि बि, रोवर्ट, स्मार्ट घर, नमुना गृन हाउस, हाईड्रोपावर उत्पादन प्रणाली, हाईड्रोलिक व्रिज र स्थानीय स्तरमा प्रयोग गरीने सामग्रीहरू प्रदर्शनमा राखिएका थिए ।
त्यसैगरी स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरीएका कक्षाकोठामा प्रयोग गरीने विज्ञान र गणितका शैक्षिक सामग्रीहरू समेत प्रर्दशनमा राखिएका थिए । मानव अंग र त्यसले काम गर्ने तरिकाको बारेमा जानकारी मुलक सामग्री समेत विद्यार्थीहरूले देखाईरहेका थिए । शैक्षिक सामग्री प्रदर्शनसँगसँगै त्यसको बारेमा अन्य विद्यार्थीहरूलाई पनि सिकाईरहेको देख्न सकिन्थ्यो ।
शैक्षिक सामग्रीसँगसँगै विज्ञान र प्रविधिसँग सम्बन्धित रहेका पुराना घरयासी प्रयोगका सामग्रीहरू ढिकि, जाँतो, तराजु, हलो, जुवा, कोदालो जस्ता सामग्री समेत प्रदर्शनमा राखिएका थिए । आँफुले बनाएको शैक्षिक सामग्री देखाउन र अरुले ल्याएको शैक्षिक सामग्री हेर्न पाएकोमा विद्यार्थीहरू हर्षित भएका थिए । शैक्षिक प्रदर्शनीमा आएर आँफुले ल्याएका सामग्रीहरूको बारेमा अरुलाई सिकाउन पाएको र अरुले बनाएका समाग्रीबाट आँफुले धेरै कुरा सिक्न पाएको पाञ्चजन्य माध्यमिक विद्यालयका विद्यार्थी संगम पोखरेलले बताए ।

शैक्षिक प्रर्दशनी कार्यक्रमले शिक्षक र विद्यार्थीहरूलाई थप ऊर्जा प्रदान गरेको छ । अझैपनि कतिपय विद्यालयमा शिक्षण सामग्री विना नै शिक्षण गर्ने गरिन्छ । त्यसको लागि कार्यक्रमले चुनौती थपिदिएको छ । सामान्य खर्चमा सामान्य तरिकाले पनि शिक्षण सामग्री बनाउन सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले बताए ।
कुन विद्यालय के भए ?
माध्यमिक तह
प्रथम : श्री जनसेवा माध्यमिक विद्यालय बैदी ।
द्वितिय : श्री द भ्वाईस एकेडेमी जयनगर ।
तृतिय: अंशुवर्मा माध्यमिक विद्यालय जयनगर ।
आधारभुत तह
प्रथम :श्री नेपाल प्राज्ञीक आधारभुत विद्यालय जब्दी ।
द्वितिय : जनज्योती आधारभुत विद्यालय औँरी ।
तृतिय : नवज्योती आधारभुत विद्यालय शक्तीनगर ।
प्राथमिक तह
प्रथम : शहिद प्राथमिक विद्यालय गुमस्ता ।
द्वितिय: करुणा प्रा वि बनगाई र
सरस्वती प्रा वि भगतपुर ।
तृतिय : जनचेतना प्रा वि धधवार ।

यज्ञप्रसाद सापकोटा















प्रतिक्रिया