
काठमाडौं, १४ पुस । बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा वर्षा भइरहेको छ ।
महाशाखाको ताजा विवरण अनुसार दीपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुने छ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भइरहेको महाशाखाको भनाइ छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।















प्रतिक्रिया