शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

डब्ल्यूएचओको चेतावनी : युरोपमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने चाप उत्पन्न हुनसक्छ

युरोपभरि हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७८ पुष १४ गते ८:१९

काठमाडौं, १४ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले युरोपमा बढ्दो कोरोना सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।

पछिल्लो समय फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च १ लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् ।

क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ । मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिअन्टका कारण निम्तिएको ठानिन्छ ।

अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । सोमबार फ्रान्सका स्वास्थ्यमन्त्रीले ज्यानुअरीको सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए ।

फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन् ।

यसै हप्ताको सुरुमा फ्रान्सले केही प्रतिबन्धहरू घोषणा गरेको थियो जसमा ज्यानुअरीको प्रारम्भबाट अनिवार्य रूपमा कम्तीमा तीन घरबाटै काम गर्नुपर्ने भनिएको छ । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ ।

महामारीलाई ध्यान दिँदै प्यारिस, लन्डन र बर्लिनसहित कैयौँ शहरले नयाँ वर्षको कार्यक्रम रद्द गरेका छन् ।

फ्रान्स र इङ्ग्ल्यान्डका मानिसहरूलाई आफ्नो सामान्य विवेक प्रयोग गर्न भनिएको छ भने स्पेनको राजधानी मड्रिडले सहभागीहरूको सङ्ख्यालाई सीमित तुल्याउँदै नयाँ वर्षका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

इटलीले बाहिरका कार्यक्रम र रात्रि क्लबहरू बन्द गराएको छ तर निजी भेलाहरूमा रोक लगाएको समाचार बीबीसीले प्रकाशित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित