९ कार्तिक २०८३, सोमबार

ज्ञानेन्द्रको आरोप : राष्ट्रघात गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन्

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।

अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभइ देशको हितमै रहेको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै शेरबहादुर देउवा स्वयम् ‘राष्ट्रघाती’ भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनलाई शुभकामना दिने क्रममा हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नरहेको र यसलाई पास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । त्यसको भोेलिपल्ट आज सोमबार शाहीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री देउवाको अभिव्यक्तिको विरोध गर्दै उनैलाई ‘राष्ट्रघाती’को संज्ञा दिएका हुन् ।

शाहीले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पढ्दै नपढी विरोध गरिएको भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाउँदै बरु प्रधानमन्त्री देउवाले चाहिँ सम्झौता नपढेको जिकिर गरे । उनले भने, ‘हाम्रो बाजे प्रधानमन्त्री देउवाले यो एमसीसी सम्झौता पढेको छैन भन्नुभयो, यो सम्झौता ७७ पृष्ठ लामो छ । ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ । नेपालका धेरै नागरिकले पढ्नुभएको छ । बरु, उहाँले पढ्नुभएको छैन ।’

प्रधानमन्त्री देउवाले सम्झौतामा राष्ट्रघाती कहाँ छ ? भनेको उल्लेख गर्दै शाहीले सम्झौताका दफाहरूसमेत सार्वजनिक गरेका छन् । र, ती दफा नेपालको हितमा नरहेको उनको जिकिर छ । उनले सम्झौताको दफा ६.८ नेपालको हितमा नभएको सुनाए । उक्त दफामा नेपालको कानून लाग्दैन भनिएको शाहीले सुनाए ।

त्यस्तै, धारा ३ को दफा ३–२ को च पनि नेपालको हितमा नरहेको सुनाए । उनले उक्त धारामा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुने कुरा उल्लेख गरिएको बताए । त्यस्तै, धारा ३ को ८ (क) मा परियोजनाको लेखापरीक्षण अमेरिकाले मात्रै गर्नसक्ने कुरा लेखिएको पनि उनले उल्लेख गरे । धारा ५ को ‘क’ र ‘ख’ अमेरिकाले चाहेको बेला यो सम्झौता जुनसुकै बेला खारेज गर्नसकिने कुरा राखेको र यो पनि नेपालको हितमा नरहेको शाहीले दाबी गरे ।

प्रधानमन्त्री देउवाले आफूले हेर्दा सम्झौतामा राष्ट्रघात कहीँ पनि नदेखेको कुरा उल्लेख गर्दै शाहीले प्रधानमन्त्री देउवा नै राष्ट्रघाती नेता भएको गम्भीर आरोप लगाए ।

कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सन्धि गर्दा देउवाको महत्वपूर्ण भूमिका रहेको पनि उनले सुनाए । त्यस्तै, उनले ६० लाख भारतीयहरूलाई नेपाली नागरिकता वितरण गर्ने काममा पनि देउवा मुछिएको बताए । उनले भने,‘महाकाली सन्धी त तपाईले नै गरेको हो । प्रधानमन्त्री देउवाज्यू, तपाईं राष्ट्रघाती हो । तपाईँको भरोसा छैन् । हिजोपनि राष्ट्रघाती काम गर्नुभयो, आजपनि गर्न खोज्दैहुनुहुन्छ, तर हामी गर्न दिँदैनौं ।’

उनले वल्र्ड बैंक र एडिबीमा अन्तर्राष्ट्रिय कानून लाग्ने तर, एमसीसीमा अन्तर्राष्ट्रिय कानुन नलाग्ने स्मरण गराए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले एडिबी र वल्र्ड बैंकबाट ऋण लिएको कुरा गर्नुभयो, अनि यो अुनदान किन नलिने ? भन्नुभयो । तर, म भन्छु एडीबी र वर्ल्ड बैंकमा अन्तर्राष्ट्रिय कानून लाग्छ । एमसीसीमा लाग्दैन नि, देश बेच्ने अधिकार तपाईँलाई छैन् । एमसीसी, वल्र्ड बैंक र एडीबी फरक कुरा हो । एमसीसीले नेपालको कानून मान्छु भनेर कहाँ भनिएको छ ?’

उनले नेपालीहरू वीर गोरखालीको सन्तान भएको उल्लेख गर्दै आफूहरू भिखारीको सन्तान नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हामी भिखारीको सन्तान होईनौं । कसैले दिएको भीख लिँदैनौं । परिश्रम गरेर आफ्नो गुजारा चलाउँछौं ।’ उनले देश बनाउनका लागि नेपालभित्रै भएका ठूला–ठूला घोटाला र कर छलीको घट्ना उल्लेख गर्दै त्यसबाट पैसा उठाउन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘६२ अर्ब एनसेलबाट उठाउनुहोस । फारेजी घोटालाबाट १२ अर्ब उठाउनुहोस् । ठूला व्यवसायीहरूबाट ३२ अर्ब विद्युत् महशुल उठाउनुहोस । ठूला करदाताबाट ३५ अर्ब बाँकी छ, त्यो पनि उठाउनुहोस । वाइडबडीबाट ४ अर्ब प्लस छ, त्यो पनि उठाउनुहोस । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन हेर्नुहोस, कति बेरुजु छ ? त्यो बेरुजुबाट उठाउनुहोस् । मेलम्चीमा २ अर्ब भ्रष्टाचार भएको छ, त्यो पनि उठाउनुहोस् । भीआईपीको खर्च १० अर्ब रकम खर्च भएको छ, त्यो हेर्नुहोस् । लाउडा काण्डमा २ अर्ब, धमिजा काण्ड छ, सांसद किनबेच, सांसदलई प्राडो दिनुभयो, त्यो पैसा उठाउनुहोस् ।’