
काठमाडौं, १३ पुस । नागार्जुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेको छ ।
सम्पदा संरक्षण महाअभियानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो । काठमाडौं जस्तो शहरमा दिनदाहाडै मूर्ति चोरी हुनु हास्यास्पद रहेको सम्पदा संरक्षण महाअभियान अभियन्ता यादव लाल कायस्थले बताएका छन् ।
उनले देशकै असाधरण सम्पत्ति चोरी हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बस्न नहुने बताए । भगवानको मूर्ति चोरहरुलाई पनि कारबाही नभएपछि झन् चोर्न सजिलो भएको भएको भन्दै उनले भने, ‘हामीले पूजा गर्ने भगवानकै मूर्ति चोर्दा त कसैलाई पक्राउ गर्न नसक्ने सरकारले अरु चोरलाई के गर्न सक्छ ? समाजमा यस्ता अपराध कति बढ्दै जाला ।’ नेपालबाट चोरेको मूर्तिहरु अमेरिका र लन्डन पुग्ने गरेको उनको भनाइ छ ।

‘एक बट्टा अचार समातिने विमानस्थलमा ठूला–ठूला मूर्ति कसरी छिरे ?’ उनले प्रश्न गरे । त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको मूर्तिको अवस्था आजका दिनसम्म कु्नै जानकारी नभएको उनले बताए । मूर्ति खोज्ने क्रममा छैटौ शताब्दीमा निर्माण भएको ब्रह्मा भगवानको मूर्ति गौशाला प्रहरी कार्यालयमा फेला परेको उनले बताए ।
उनले भने, ‘प्रहरी कार्यालयमा फोहोर राख्ने ठाउँमा अत्यन्तै दयनिय अवस्थामा ब्रह्माको मूर्ति फालिएको छ, ब्रह्माको मूर्ति पुनः स्थापना गरियोस् ।’















प्रतिक्रिया