
काठमाडौं, १२ पुस । वैकल्पिक युवा सङ्गठनले क्रिकेट खेलाडीहरूलाई गरिएको कारवाही फिर्ता लिन माग गरेको छ ।
क्यानले खेलाडीहरूसँग माफी माग्दै आफ्नो गलत निर्णय तुरुन्त सच्याएर पुनर्बहाली गर्न सङ्गठनले माग गरेको हो । साथै, नेपाल क्रिकेट सङ्घमा कर्मचारी भर्ना, ‘क्रिकेट म्यानेजर’ पदका कर्मचारीको छनौट, राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको वर्गीकरण, मुख्य प्रायोजकले प्रायोजन गरेको जर्सी, राष्ट्रिय खेलाडीहरूले ग्रहण गरेबापत खेलाडीहरूले प्राप्त गर्ने लाभांशलगायत माग राखेर खेलाडीहरूले गरेको ध्यानाकर्षणलाई सम्बोधन गर्न समेत जोडदार माग गरिएको छ ।
साथै, वैकल्पिक युवा सङ्गठनले आफूहरू खेलाडीहरूको मनोबल उच्च बनाइराख्ने सक्षम र पारदर्शी क्रिकेट सङ्गठनको पक्षमा रहेको समेत ज्ञापनपत्रमा जनाएका छन् । ज्ञापनपत्र बुझाउँदै वैकल्पिक युवा सङ्गठनका खेलकुद विभाग प्रमुखले आफूहरू खेलाडीको जायज मागको पक्षमा रहेको बताए ।
ज्ञापनपत्र बुझाउँदै वैकल्पिक युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले देशलाई जोड्ने क्रिकेट र खेलाडीहरूको पक्षमा सधैँ रहने बताए । उनले क्रिकेट सङ्गठनमा कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप र मनोमानी आम युवाहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।















प्रतिक्रिया