
काठमाडौँ, ११ पुस । चार महिनामा विद्युत चुहावट २.८३ प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविाधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानले चुहावट घटाएको प्राधिकरणको भनाइ छ ।
आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २ दशमलव ८३ प्रतिशत विन्दुले घटेर १४ दशमलव ३५ प्रतिशतमा झरेको हो । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादन तर्फबाट हुने गरेको छ ।
प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।












प्रतिक्रिया