९ कार्तिक २०८३, सोमबार

मुडे–चरिकोट सडकमा सडक विभागसहितका सरकारी सवारी गुड्न नदिइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । चरिकोट–मुडे सडकमा ढिलासुस्तीविरुद्धको मुल संघर्ष समितिले आन्दोलनका नयाँ कार्यक्रमहरू घोषणा गरेको छ ।

सडक विभागलाई आगामी शनिबारसम्मको अल्टिमेटम दिँदै नयाँ कार्यक्रम घोषणा गरिएको संघर्ष समितिले जनाएको छ । शनिबारसम्म सडक निर्माणको सुनिश्चितता नगरे आइतबारदेखि आन्दोलनको नयाँ चरणमा प्रवेश गर्नेगरी कार्यक्रम घोषणा गरिएको बताइएको छ ।

नयाँ कार्यक्रमअनुसार पुस ११ गते आइतबारदेखि चरिकोट–मुडे सडक क्षेत्रमा सडक विभागअन्तर्गतका सबै निकायका गाडी गुडाउन अनिश्चितकालका लागि रोक लगाइने भएको छ । त्यस्तै पुस १३ गतेदेखि सो सडक खण्डमा सरकारी नम्बर प्लेटका सबै गाडीहरु अनिश्चितकाल सम्मका लागि रोक लगाइने छ ।

संघर्षका कार्यक्रममा सहभागिताका लागि सरोकारवाला सबैलाई संघर्ष समितिले अपिल गरेको छ । समितिले यसअघि काठमार्डौंस्थित सडक विभागकै कार्यालयमा आएर विरोधका कार्यक्रम गरिसकेको छ ।

उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । जिल्लालाई राजधानीसँग जोड्ने सडक खण्डको विस्तार ६ वर्षदेखि अलपत्र पारेको भन्दै स्थानीयहरू चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयको चौतर्फी दबाबपछि अहिले निर्माण कम्पनीबाट काम हुन नसक्ने ठहर गर्दै सडक सुधार आयोजनाले ठेक्का तोड्न विभागमा फाइल बुझाएको छ । फाइल बुझाएसँगै ठेकेदार काममा फर्किएको छ । तर ठेकेदार काममा फर्किए पनि स्थानीयले चित्त बुझाएका छैनन् ।

ठेकेदारले स्थानीयको आँखामा छारो हाल्न खोजेको भन्दै उनीहरुले संघर्षका कार्यक्रम जारी राखेको बताएका छन् । दुई वर्षमा काम सक्नेगरी जिम्मा लिएका शंकरमाली, सुनौलो खिम्ती जेभी र भारतीय निर्माण कम्पनी सकिल हैदरले सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र पारेका हुन् ।