आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

छुट्टी मनाउने योजनाहरू रद्द गर्न डब्ल्यूएचओको आग्रह

‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो’

दैनिक नेपाल २०७८ पुष ६ गते ८:०५

काठमाडौं, ६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेशन ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन् । ‘ुकेही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुने छ,’ उनले थपेका छन् ।

उनका अनुसार ‘ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ । बीबीसीमा प्रकाशित समाचारमा जनाइए अनुसार का अनुसार फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नाका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागू गरेका छन् । सोही बेला डब्ल्यूएचओका प्रमुख डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

समाचार अनुसार द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ । सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ‘देशलाई बन्द गर्ने’ योजना नबनाएको जनाएको छ ।

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।

नजिकिदो क्रिसमसका बेला गरिने आवतजावत तथा छुट्टीका कार्यक्रमहरूले कोरोनाको नयाँ भेरियन्ट फैलावटमा मद्दत पुग्ने भन्दै डब्ल्यूएचओले बारम्बार सचेत गराउँदै आएको छ ।

यसैबीच क्रिसमसको भीडभाडका कारण कोभिडको नयाँ भेरियन्ट झन् तीव्र बन्न सक्ने चेतावनी अमेरिकी विज्ञहरूले पनि दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित