
नुवाकोट, ४ पुस । महिलालाई सरकारले दिएको अधिकार र विभिन्न कानूनको बारेमा जानकारी दिनका लागि महिलाहरूलाई धेरैतिर प्रशिक्षण दिने गरिएको छ ।
तर, मंसिर २८ र २९ गते विदुरमा केही फरक गरी प्रशिक्षण दिइयो । जहाँ महिलाहरूमाथि हुने हिंसाको घटनाहरूलाई न्यूनीकरण गर्नका लागि भन्दै पुरुषहरूलाई तालिम दिइयो ।
महिलाको अधिकारसम्बन्धी जानकारी दिन र महिलामाथि हुने हिंसाको घटनाहरूलाई न्यूनीकरण गराउने उद्देश्यसहित शिवपुरी गाउँपालिकाका युवा तथा पुरुषहरूको लागि ‘मानव अधिकार र महिला अधिकार’ विषयक तालिम दिइएको हो । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यू परियोजना) अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ का युवा तथा पुरुषहरूलाई दुई दिने तालिम सञ्चालन भएको हो ।
कार्यक्रममा संयोजक कृष्णप्रसाद नेपालले महिलामाथि हुने हिंसालाई कम गराउन पुरुषको बराबर दायित्व हुने भएकोले पुरुषहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागीहरूलाई कार्यक्रम संयोजक नेपालले मानवअधिकारको अवधारणागत विषय, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, नेपालको संविधान २०७२ मा समावेश भएका मौलिक हकसम्बन्धी जानकारी दिएका थिए । विशेष गरी खाद्य अधिकार, स्वास्थ्यसम्बन्धी अधिकार, शिक्षासम्बन्धी अधिकार, आवास तथा रोजगारीको हकमा केन्द्रीत रहेर जानकारी दिइएको थियो ।
कार्यक्रममा नुवाकोट जिल्ला अदालतका शाखा अधिकृत रिता लामिछानेले महिला अधिकार, महिलामाथि हिंसा भएमा त्यसको कानूनी उपचारको विधि, प्रक्रियाको बारेमा जानकारी दिएकी थिइन् ।
सोही कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि अधिवक्ता नवदीप श्रेष्ठले मानवअधिकार र नेपालमा मानवअधिकारको विकासक्रम, संविधान र कानूनमा महिलाको अधिकार, लैंगिक हिंसा, नेपालको संविधान २०७२ मा समेटिएको मौलिक हक र त्यसको महत्व लगायत विषयमा सहभागीहरूलाई अवगत गराएका थिए ।
कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ मा गठन भएका १४ वटा समूहमा आवद्ध महिलाहरूका परिवारका पुरुषहरूको सहभागिता थियो ।















प्रतिक्रिया