
नेदरल्याण्ड्स, ४ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा लकडाउन थप कडा पारिएको छ ।
नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुने छन् ।
घरमा मात्रै दुईजनासम्म पाहुन आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ । प्रधानमन्त्री मार्क रुटले लागू गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । नयाँ नियम आज आइतबारदेखि लागू भएको हो ।
हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन् ।
नोभेम्बरको अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।















प्रतिक्रिया