
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले कांग्रेसलाई आगामी निर्वाचनहरू लड्न कसैको पनि वैशाखी नचाहिने बताएका छन् ।
विगतमा कांग्रेसले क–कसको वैशाखी टेक्यो, त्यो इतिहास भइसकेको बताउँदै गुरूङले अब कांग्रेसलाई कसैको वैशाखी नचाहिने स्पष्ट पारेका हुन् । हिजो शुक्रबार राजधानीमा भएको एक विषेश साक्षातकार कार्यक्रममा उपसभापति गुरूङले भने, ‘हिजो कांग्रेसले क–कसको वैशाखी टेक्यो, त्यो इतिहास हो । तर अब कांग्रेसलाई कसैको वैशाखी चाहिँदैन, एक्लै चुनाव लड्छ ।’
निर्वाचन अग्निपरीक्षा भएको बताउँदै उनले अबको निर्वाचन कांग्रेस एक्लैले लड्ने उद्घोष गर्दै भने, ‘चुनावी मैदानमा पुगेर ५१ प्रतिशत पुर्याउन चाहन्छौं । वैशाखी टेकेर सवल खुट्टा टेकेको पार्टीसँग लड्न सकिँदैन् । हाम्रो दुवै खुट्टा सवल छन् । यो भुल अब हुँदैन् । विगतमा भयो होला । विगतमा कांग्रेसीहरूले रुँदै अर्को चुनाव चिह्नमा भोट हाले होलान् । हामी अब प्रतिवाद गर्छौं । हामी विधि, विधान, सिद्धान्त र आर्दशबमोजिम नेपाली कांग्रेसलाई हाँक्छौं, यसैगरी पार्टी जनताको पक्षमा पुग्छ । हाम्रो कार्यक्रम लिएर चुनाव जित्छौं ।’
उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जानुपर्नेमा जोड दिएका छन् । ‘विचार समूह र प्यानल त निर्वाचनको मैदानमा थियो । अब सबैलाई गोलबन्द गरेर अघि बढ्ने हो,’ अर्को प्रसङ्मा गुरूङले भने, ‘डा. मिनेन्द्र रिजालले नैतिकताको रूपमा राजीनामा दिनुभयो । राम्रो गर्नुभयो । उच्च नैतिकताको आधारमा राजीनामा गरेको हो ।’
पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको गुरूङको जिकिर छ । ‘हामी खेलको मैदानबाट बाहिरियौं । देउवा सबैको सभापति हो । धनराज, विश्वप्रकाश र गगन थापा पनि सबैको हो,’ उनले भने । अब पार्टीमा रूपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट शुरू गर्ने उनको भनाइ छ ।















प्रतिक्रिया