आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

साफ यू–१९ महिला फुटबल : भुटानलाई हराउँदै नेपाल फाइनलनजिक

नेपालले लिगको अन्तिम खेलमा भारतसँग १९ डिसेम्वरमा खेल्दै

दैनिक नेपाल २०७८ पुष ३ गते ८:२३

काठमाडौं, ३ पुस । भुटानमाथि सहज जित निकाल्दै नेपाली महिला यू–१९ टोली बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनशीपको फाइनलनजिक पुगेको छ ।

बंगलादेशको ढाकामा हिजो शुक्रबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल लिगमा दोस्रो स्थानमा उक्लदै फाइनल नजिक पुगेको हो ।

बीएसएसएस मुस्ताफा कमल स्टेडियम ढाकामा शुक्रबार भएको खेलमा नेपालको सहज जितमा मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले समान एक÷एक गोल गरेकी थिइन् ।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । १८औं मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । २१औं मिनेटमा रजनी थोकरले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । ७२औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपालको जित पक्का गरिन् ।

जितपछि अपराजित रहेको नेपालको ४ खेलबाट ७ अंक पुगेको छ । समान ७ अंक नै रहे पनि बंगलादेश गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत शुक्रबारको पहिलो खेलमा आयोजक बंगलादेशसँग १–० ले पराजित भएको छ ।

अब नेपालले लिगको अन्तिम खेलमा भारतसँग १९ डिसेम्वरमा खेल्दैछ । यो खेलमा जित हात निकाल्न सके नेपाल फाइनलमा प्रवेश गर्नेछ । बराबरीले पनि नेपालले फाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया
सम्बन्धित