आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

वेस्टइन्डिजमाथि पाकिस्तानको कीर्तिमानी जित

दैनिक नेपाल २०७८ पुष २ गते १०:२०

काठमाडौं, २ पुस । ओपनर बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजसँगको तेस्रो टी–२० आई खेलमा ७ विकेटको कीर्तिमानी जित हात पारेको छ ।

योसँगै तीन टी–२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले क्लिनस्विप गरेको छ । जितका लागि २०८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

यसअघि टी–२० आईमा सर्वाधिक ठूलो लक्ष्य यसै वर्ष दक्षिण अफ्रिकाविरुद्ध २०५ रन थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान ४५ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । योसँगै रिजवान एकै वर्षमा २ हजार टी–२० रन बनाउने पहिलो खेलाडी बनेका छन् । कप्तान बाबर आजमले ५३ बलमा ९ चौका र २ छक्कासहित ७९ रन बनाए ।

पहिलो विकेटका लागि बाबर र रिजवानले १५.१ ओभरमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । बाबर र रिजवानले छैटौं पटक टी–२० आईमा साझेदारी गरेका हुन् । जुन कुनैपनि जोडीले टी–२० आईमा गरेको सर्वाधिक शतकीय साझेदारी हो । आसिफ अली ७ बलमा २ चौका र २ छक्कासहित २१ रनको योगदान दिए ।

त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित