आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आगामी आइतबारदेखि

दैनिक नेपाल २०७८ पुष १ गते ९:१२

काठमाडौं, १ पुस । जैशीदेवल युथ क्लबको आयोजनामा बागमती प्रदेशस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आगामी आइतबारदेखि शुरू हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिए । हिजो बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ग्योरोगीको पुरुष–महिलामा समान ८–८ गरी १६ स्पर्धामा भीडन्त हुने छ ।

पुम्सेतर्फ पुरुष/महिलामा ४ स्पर्धामा खेल हुने छ । प्रतियोगितामा आयोजकको २ सहित २० टीमका ४०० जना खेलाडीको सहभागिता रहने क्लबका सदस्यसमेत रहेका प्रचार–प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए ।

मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कारबाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ छ । पुरुष–महिला उत्कृष्ट फाइटरले १५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै उत्कृष्ट पुरुष–महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष–महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गर्ने भएका छन् ।

त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १–१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउने छन् ।

दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित