
काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभाको १०औं र राष्ट्रिय सभाको ११औं अधिवेशन आज मंगलबारदेखि शुरू हुँदै छ ।
संसद् सचिवालयले निकालेको प्रारम्भिक कार्यसूचीअनुसार अध्यादेश पेसबाहेक अन्य कार्यसूची छैन । तर, विवादको घेरामा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल हुनसक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् ।
यद्यपि, आजको औपचारिक कार्यसूचीमा एमसीसीबारे सरकारले कुनै जानकारी नगराएको बताइएको छ । आजको बैठकमा नेपाल प्रहरी प्रदेश प्रहरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, सामाजिक सुरक्षा, यौनहिंसा, फौजदारी कसुर र रेल्वे अध्यादेश पेस हुने छ ।
अघिल्लो अधिवेशन अवधिभर संसद्मा अवरोध पुर्याएको एमालेले यसपटक के गर्ला भन्ने चासो छ । बैठकमा प्रस्तुत हुने रणनीति बनाउन एमालेले मंगलबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकपछि दलको रणनीति तय हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।















प्रतिक्रिया