
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका डा. प्रकाश शरण महतले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
पार्टीका अग्रजहरुको त्याग, तपस्या र बलिदान तथा संघर्षले स्थापित लोकतन्त्रको खुला वातावरणमा भइरहेको १४औं महाधिवेशनमा आफ्नो योग्यता, क्षमता, दक्षता, अनुभवलाई समर्पित गरी पार्टीलाई सबल, सुदृढ, व्यवस्थित गर्दै, पार्टीलाई कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको महतले स्पष्ट पारेका छन् ।
‘कक्षा ७ मा पढ्दै गर्दा सानै उमेरमा उत्पन्न भएको राजनीतिक चेतना र लोकतन्त्रप्रतिको समर्पणले नेपाल विद्यार्थी संघका विभिन्न तहका पदाधिकारी हुँदै नेपाली कांग्रेसको सह–महामन्त्रीसम्म रहेर मैले पार्टीमा गरेको योगदानलाई मूल्यांकन गर्दै मेरो उम्मेदवारीलाई सहर्ष समर्थन गरेर अत्यधिक बहुमतले विजयी गराउनुु हुने मैले विश्वास लिएको छु,’ उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तो छ, प्रतिबद्धताको पूर्ण पाठ–
‘कुनै एक व्यक्तिले पनि राष्ट्रको अहित हुन नदिनका लागि ठाउँमा गएर आफ्नो विरोध जाहेर गर्छ भने त्यसको वाणीमा सम्पूर्ण राष्ट्रको नैतिक शक्ति केन्द्रित हुन्छ’
– वीपी कोइराला
प्रतिबद्धता–पत्र
लोकतन्त्रको आलोकमा आफ्ना वैयक्तिक तथा मौलिक स्वतन्त्रताहरु उपयोग गर्दै नेपाली नागरिकहरुलाई समुन्नतिको शिखरमा पु¥याउन मुलुकमा लोकतान्त्रिक शासन पद्धतिको स्थापना,पुनःस्थापना,संरक्षण एवम् विकासमा समर्पित रहदै आएको हाम्रो गौरवशाली पार्टी नेपाली काँग्र्रेसको १४ औं महाधिवेशनको अवसरमा म नेपाली कांग्रेसमा आबद्ध समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा जय नेपालको न्यानो अभिवादन टक्रयाउन चाहन्छु ।
यस अवसरमा नेपाली कांग्रेसका संस्थापक श्रद्धेय नेताहरु वीपी कोइराला, सुवर्णसमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । नेपाली कांग्रेसलाई देशको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आजीवन अनवरत संघर्ष गर्नुहुने गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि,सुशील कोइराला, शैलजा आचार्य,रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, भीमबहादुर तामाड.लगायतका नेताहरुको विशिष्ट योगदानलाई हृदयमा राखेको छु ।
नेपाली कांग्रेसको आह्वानमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्ति,लोकतन्त्रको पुनःस्थापनाको लागि २०१७ सालपछि गरिएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा २०४६ र २०६२/०६३ को जनआन्दोलनका साथै लोकतन्त्रको संरक्षणका लागि सक्रिय रहदा अधिनायकवादी शासक र कथित विद्रोहीहरुको आक्रमणमा परेर जीवन उत्सर्ग गर्नुभएका समस्त शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई शिरोपर गर्दै पार्टीको लक्ष्य प्राप्तिका लागि जीवन उत्सर्ग गर्न प्रेरणा दिने शहीद परिवारलाई सम्मान गर्न चाहन्छु । नेपाली कांग्रेसलाई लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रियताप्रति संवेदनशील र नागरिकप्रति समर्पित नेपालको एकमात्र पार्टीको रुपमा स्थापित गर्न मन, बचन र कर्मले समर्पित यहाँहरु सबैलाई हार्दिक अभिनन्दन गर्न चाहन्छु ।
साथीहरु,
हाम्रा अग्रजहरुको त्याग,तपस्या र बलिदान तथा हाम्रो संघर्षले स्थापित लोकतन्त्रको खुला वातावरणमा भैरहेको यस १४ औं महाधिवेशनमा मेरो आफ्नो योग्यता, क्षमता, दक्षता, अनुभवलाई समर्पित गरी पार्टीलाई सबल,सुदृढ,ब्यवस्थित गर्दै, पार्टीलाई कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने मेरो उद्देश्य र प्रतिबद्धता तथा तपाईँहरुको सुझाव अनुरुप मैले महामन्त्रीको पदमा उम्मेद्वार बन्ने निर्णय गरेको छु । कक्षा ७ मा पढ्दै गर्दा सानै उमेरमा उत्पन्न भएको राजनीतिक चेतना र लोकतन्त्रप्रतिको समर्पणले नेपाल विद्यार्थी संघका विभिन्न तहका पदाधिकारी हुँदै नेपाली कांग्रेसको सह–महामन्त्रीसम्म रहेर मैले पार्टीमा गरेको योगदानलाई मूल्यांकन गर्दै मेरो उम्मेदवारीलाई सहर्ष समर्थन गरेर अत्यधिक बहुमतले विजयी गराउनुु हुने मैले विश्वास लिएको छु ।
नेपाली कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै पार्टीलाई सबल बनाएर हाम्रो गौरवशाली पार्टीलाई आम नागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्पसहित यहाँहरु बीच उपस्थित भएको छु ।
संगठन निर्माणका पाँच आधार : विचार, प्रशिक्षण, कार्यक्रम, अनुशासन र प्रचार
नेपाली कांग्रेस देशमा क्रियाशील पार्टीमध्ये सबैभन्दा पुरानो,राष्ट्रवादी, लोकतन्त्रप्रति प्रतिबद्ध र नागरिकमुखी शासन सञ्चालन गर्न सक्षम राजनीतिक पार्टी भएकोले हाम्रो सांगठनिक संरचना देशको सबै प्रदेश, जिल्ला,स्थानीय तह र वडाका साथै टोलस्तरमा पुगेको छ । त्यसैले पार्टी संगठनलाई थप विस्तार, सुदृढीकरण र गतिशील बनाउनु बनाउनु अहिलेको आवश्यकता हो । उक्त उद्देश्यका लागि निम्न काम गरिने छ:-
विचार
– जननेता वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको पार्टीको आदर्श, मार्ग निर्देशक सिद्धान्त र विचारको समयानुकूल सही ब्याख्या गर्दै वर्तमानमा तिनको सान्दर्भिकतालाई थप पुष्टि गरिने छ ।
– नेपाली कांग्रेसको मार्ग निर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिंदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने छ ।
प्रशिक्षण
– केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई अझ सुदृढ र प्रभावकारी बनाउदै प्रदेश र जिल्ला स्तरमा पनि विस्तारित गरिने छ ।
– केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कार्य समितिलाई प्रशिक्षणको बार्षिक क्यालेण्डर निर्माण गर्न लगाइने छ ।
– पार्टीका सिद्धान्त, विचार, नीति, रणनीति र कार्यक्रमका बारेमा हरेक तहका कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण दिइने छ ।
– विभिन्न तहमा प्रशिक्षण गर्ने जनशक्ति निर्माणको लागि प्रशिक्षक प्रशिक्षण ९त्इत्०कार्यक्रम सञ्चालन गरिने छ । हरेक तहका कार्यकर्ताको प्रशिक्षणका लागि आवश्यक पाठ्यक्रम,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरु तयार गरिने छ ।
– विभिन्न संस्थाहरुसंग सहकार्य गरी नेतृत्व विकासको विशेष प्रशिक्षण दिइने छ ।
– संगठन निर्माण र सञ्चालन तथा नेतृत्व विकासको प्रशिक्षणको साथसाथै नेपाली कांग्रेसबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्ना तहमा नीति तथा कार्यक्रम निर्माण,कार्यान्वयन र नागरिकको सेवाका पक्षमा पर्याप्त जानकारी दिन विशेष प्रशिक्षणको व्यवस्था समेत गरिने छ ।
– नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्तालाई विचारमा अब्बल,तार्किक,आफ्ना कुराको पुष्टि गर्न सक्ने तथा आफ्नो सरकारले गरेका कार्यहरुको प्रतिरक्षा गर्नसक्ने र विपक्षीले सिर्जना गरेका भ्रमलाई चिर्न सक्ने सक्षम बनाइने छ ।
कार्यक्रम
– पार्टीका हरेक तहका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पार्टीलाई जनताका बीचमा लैजाने कार्यक्रम तयार गर्न प्रेरित गरिने छ ।
– स्वतन्त्रता सेनानी र ज्येष्ठ नागरिकको सम्मान, युवाहरुबीच खेलकूद,विद्यालयस्तरमा हाजिरी जवाफ,नेपाली कांग्रेसका संस्थापक नेताहरुको स्मृति दिवसमा प्रवचन, दिवंगत स्थानीय नेताहरुको स्मृतिमा कार्यक्रम गर्न र प्राकृतिक प्रकोप तथा घट्ना÷दुर्घटनामा स्वयंसेवा गर्न पार्टीका कार्यकर्ताहरुलाई परिचालन गरिने छ ।
– श्रावण र भाद्र महिनामा पर्ने वीपी कोइराला स्मृति दिवस र जन्मजयन्तीमा वगैचा निर्माण, वृक्षारोपण तथा चौतारो निर्माण जस्ता रचनात्मक र सिर्जनात्मक कार्य गर्न उत्प्रेरित गरिनेछ । पार्टीका संस्थापक,अग्रज र राष्ट्रिय नेताहरुको स्मृति दिवसमा उपयुक्त कार्यक्रम तर्जुमा गरी सञ्चालन तथा कार्यान्वयन गर्न अभिप्रेरित गरिने छ ।
– आ–आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने, नेतृत्वमा विजयी हुने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान सम्मान प्राप्त गर्नेहरुलाई सम्मान गर्ने परम्पराको प्रारम्भ गरिने छ ।
– अग्रजहरुको विश्वास नटुट्ने र युवा तथा नयाँ पुस्ताको आकर्षण बढाउने कार्यक्रम गरी पार्टी सदस्यता अभिबृद्धि गर्ने कार्यक्रमलाई बिशेष अभियानको रुपमा अगाडि बढाइने छ ।
सञ्चार
आमसञ्चारका माध्यम र सामाजिक सञ्जाल सार्वजनिक सरोकारका विषयहरु जनसमक्ष पु¥याउने अत्यन्त भरपर्दा र प्रभावकारी माध्यम हुन । विगतमा पार्टका सिद्धान्त,विचार,नीति,कार्यक्रम,निर्णय तथा हाम्रो पार्टीको नेतृत्वमा बनेका सरकारले राष्ट्रहित अनुरुप गरेका जनमुखी र सकारात्मक कामहरु प्रभावकारी रुपमा जनतासमक्ष पु¥याउने तथा प्रचार –प्रसार प्रक्रियामा रहेका कमी कमजोरीबाट शिक्षा लिंदै आधुनिक, प्रभावकारी सञ्चार नीति तथा रणनीति अंगीकार गरिनेछ । उक्त उद्देश्य हासिल गर्न निम्न रणनीति अख्तियार गरिने छ :-
– आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पार्टीको संगठन विस्तार र सुदृढीकरणको अभिन्न अंगको रुपमा विकास गरिने छ ।
– सबै तहका संगठनलाई आफ्नो क्षेत्र अन्तर्गतका आम सञ्चारमाध्यमको सूची अद्यावधिक गरी सञ्चारमाध्यमसंग राम्रो र कार्यमूलक सम्बन्ध स्थापित गर्न प्रेरित गर्ने नीति लिइने छ ।
– पार्टीका औपचारिक कार्यक्रमहरुलाई जनतासमक्ष पु¥याउने माध्यमका रुपमा संबन्धित क्षेत्रका सञ्चार माध्यमको सहयोग लिने सहज अवस्था सिर्जना गरिने छ ।
– विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीको दृष्टिकोण, पार्टीले गरेका कामहरु, विपक्षी पाटीहरुले लगाएका भ्रामक लाञ्छनाहरु चिर्ने कामलाई आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालबाटै औपचारिक रुपमा सार्वजनिक गरिने छ ।
– पार्टीका हरेक तहमा आवधिक रुपमा पत्रकार सम्मेलन गर्ने परिपाटी आरम्भ गरिनेछ ।
– पार्टीका हरेक कार्यकर्ता र हरेक तहका पदाधिकारीहरुका बीचमा आपसी सम्बाद हुने अवस्था विकसित गरिनेछ ।
– गोपनीयताको श्रेणीमा पर्ने बाहेकका सूचनाहरु वेभसाइटमार्फत सार्वजनिक गर्ने परम्पराको थालनी गरिने छ ।
– केन्द्रीय कार्यालयको सब–डोमेनमा पार्टीका केन्द्रीय विभागहरु, प्रदेश, जिल्ला तह तथा भातृसंगठनहरुको सूचना अद्यावधिक रहने पद्धति स्थापित गरिने छ भने केन्द्रीय विभाग,प्रदेश कार्य समिति, जिल्ला तथा नगर र गाउँ कार्यसमितिलाई तल्लोतहको सूचना प्राप्त गर्न सकिने गरी सबडोमेन सहितको वेभसाइट निर्माण गर्न लगाइने छ ।
मूल्यांकन र अनुशासन
– पार्टीका विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्य र प्रतिनिधिहरुलाई पार्टीको विधानले दिएको जिम्मेवारी सम्बन्धित क्षेत्रका अग्रजहरुको समन्वयमा पूरा गर्न प्रेरित गरिनेछ ।
– सबै तहका कार्यसमितिलाई आफू अन्तर्गतका विभाग निर्माण गर्दा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गरिने छ ।
– भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि आफू अन्तर्गतका विभाग गठन गर्दा योग्यता, क्षमता, दक्षता, अनुभव र विगतको कार्य सम्पादनको आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गरिने छ ।
– हरेक तहका कार्यकर्ताको मूल्यांकन एक तहमाथिबाट बार्षिक रुपमा हुने पद्धति विकास गरिने छ ।
– उत्कृष्ट काम गर्ने विभिन्न तहका कार्यसमिति,विभाग,पदाधिकारी र कार्यकर्तालाई पुरस्कृत गरिने परिपाटी विकास गरिने छ ।
– पार्टीको अनुशासन कायम गर्ने पद्धतिको संस्थागत विकास गरिने छ ।
संगठनको प्रभावकारिता : विभाग,भातृ एवम् शुभेच्छुक संस्थाहरुको गतिशीलता
– संगठन चुस्त र दुरुस्त बनाउन कार्यसमिति तथा विभागहरुलाई पूर्णता दिने, जिम्मेवारीको बाँडफाँट गर्ने र निरन्तर अनुगमन गर्न आवश्यक हुन्छ । पार्टीलाई सबल,सक्रिय र गतिशील राख्न निम्न कार्यहरु गर्न कार्यसमितिलाई प्रेरित गरिनेछ:-
– महाधिवेशन सम्पन्न भएपछि समयमै सबै तहका कार्यसमितिहरुलाई मनोनित गर्नुपर्ने पदहरुमा पदाधिकारी र सदस्य मनोनित गरी पूर्णता दिन अग्रसर गराइने छ ।
– महाधिवेशन सम्पन्न भएपछि यथाशीघ्र केन्द्रदेखि वडातहसम्म विभागहरु गठन गरी उपयुक्त व्यक्तिलाई योग्यता,अनुभव,कार्यक्षमता र दक्षताका आधारमा उपयुक्त जिम्मेवारी दिइने छ ।
– सबै भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अविलम्ब नियमित अधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लगाइने छ ।
– निजी क्षेत्र प्रभावशाली र सशक्त बन्दै गएको वास्तविकतालाई आत्मसात गर्दै सबै पेशागत संघ संगठनहरुमा आबद्ध नेपाली कांग्रेसका शुभेच्छुकहरुलाई पार्टीप्रति प्रतिबद्ध शुभेच्छुक संस्था स्थापित गरी विस्तारित गर्न प्रेरित गरिने छ र निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर पार्टीबाट यथाशीघ्र मान्यता दिइने छ ।
– पार्टीका सबैतहका संगठन र भातृसंस्थाहरुमा अल्पमत वा फरकमतलाई समेटेर लैजाने उदार र सहमतिमुखी नीति लिइने छ ।
केन्द्रीय कार्यालयको स्तरोन्नति र महामन्त्रीको भूमिका
हाम्रो पार्टीको विधानले महामन्त्रीलाई अधिकारसम्पन्न शक्तिशाली पदाधिकारीको रुपमा स्थापित गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको सञ्चालन र रेखदेखसहित केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने तथा गराउने भूमिका निर्दिष्ट गरेको छ । पार्टीको विधान अनुरुप पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने, पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने तथा गराउने अधिकार पनि पार्टी महामन्त्रीमा निहित छ ।
यसैगरी पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति गठन गर्ने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने, पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने क्षेत्राधिकार पनि महामन्त्रीमा रहेको छ । केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने र पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने क्षेत्राधिकार पनि विधानले महामन्त्रीलाई प्रदान गरेको छ । त्यसैले केन्द्रीय कार्यालयको स्तरोन्नति गरी प्रभावकारी रुपमा सञ्चालन गर्न निम्नलिखित कार्यहरु गरिने छ ।
– विधानमा निर्दिष्ट गरिएका कार्यहरु प्रभावकारी रुपमा सम्पादन गर्न केन्द्रीय कार्यालयको स्तरोन्नति गरी केन्द्रीय सचिवालयलाई आधुनिक र कार्यमूलक बनाइने छ ।
– पार्टीका सदस्यहरुको अभिलेख अद्यावधिक गर्ने,पार्टीका विभिन्न तहका कार्यसमिति र कार्यकर्ताहरुको सुझाव, सिफारिश र गुनासा सुनुवाई गरी तिनको उचित समाधान गर्ने उपयुक्त संयन्त्र तयार गरिनेछ ।
– पार्टीको बाह्य सम्पर्क स्थापित तथा विस्तार गर्ने, पार्टीभित्रका विभिन्न विभागहरुबीच समन्वय गर्ने तथा भातृ संगठनहरुसंगको समन्वयलाई उच्च प्राथमिकता दिइने छ ।
– पार्टीका नियमित बैठक आयोजनाका लागि प्रस्तावहरु तयार पार्ने र सभापतिलाई बैठकका लागि अभिप्रेरित गर्नुका साथै पार्टी समक्ष आएका समस्या तथा मुद्दाहरुलाई तत्काल सम्बोधन गरी पार्टीको स्वच्छ छवि निर्माण गर्दै कार्यकर्तामा उत्साह जगाउन छिटो र छरितो ढंगले काम गर्ने पद्धति विकास गरिने छ ।
– पार्टीको महामन्त्री पार्टी कार्यकर्ताको आवाज सुन्ने, पार्टी कार्यकर्ता र आम नागरिकबीच देखिने र कार्यकर्ताले चाहेको बखत भेटिने हुनुपर्दछ भन्ने मेरो मान्यता छ । म निर्वाचित भए पछि मेरा कार्यक्रमहरु त्यसै अनुरुप निर्धारण हुनेछन् । मेरो व्यवहार यसै अनुकूल हुनेछ ।
युवा तथा महिलाः प्राथमिकतामा पहिला
नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको तथा सबैभन्दा लामो इतिहास भएको लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी भएकोले नेपाली कांग्रेसमा परिपक्व नेता तथा कार्यकर्ताहरुको ठूलो संख्या भएपनि नयाँ पुस्ताको उपस्थिति कमजोर छैन । युवा तथा नयाँ पुस्ता र महिलाहरुलाई पार्टीमा आकर्षित गर्न नेपाली कांग्रेसले निम्न कार्यक्रम सञ्चालन गर्नेछ:-
– नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेका नेपाल तरुण दल र नेपाल महिला संघलाई थप क्रियाशील गराइने छ ।
– पार्टीको स्थायी विभागको रुपमा रहेका महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग र युवा तथा खेलकुद विभागलाई थप परिचालन गर्न प्रोत्साहित गरिने छ ।
– युवा र महिलाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रम तय गरिनेछ ।
– युवाहरुलाई नेपालभित्रकै रोजगारीका अवसरलाई उपयुक्त हुने गरी सीपमूलक तालीम दिइने छ ।
– महिलाहरुलाई आर्थिक तथा सामाजिक विकास र राजनीतिक जीवनमा सहभागिता अभिबृद्धि गराउने कार्यक्रम तय गरिने छ ।
– युवाहरुलाई खेलकूद, गीत–संगीत र नृत्य जस्ता सिर्जनात्मक काममा पनि प्रोत्साहित गरिने छ ।
– युवाहरुलाई स्वरोजगार, रोजगार र आर्थिकोपार्जनका काममा लाग्न उपयुक्त कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
समाजवादी नीतिको मूल लक्ष्य : समृद्धि र समृद्धिको पहुँचमा आम जनता
नेपाली कांग्रेस मुलुकको प्रमुख राजनीतिक शक्ति भएको र पटकपटक सरकारको नेतृत्व सम्हालेको हुनाले यसले अंगीकार गर्ने आर्थिक नीतिले मुलकलाई पनि निर्देशित गर्नेमा कुनै द्धिविधा छैन । नेपाली कांग्रेसले लिएको लोकतान्त्रिक समाजवादको सिद्धान्त र लक्ष्यमा कुनै संझौता हुने छैन तर त्यसलाई हासिल गर्नका लागि अपनाइने माध्यममा भने आवश्यकता अनुसार समय सापेक्ष परिवर्तन हुनेछ । यसैले नेपाली कांग्रेसले अबलम्बन गर्ने आर्थिक नीतिमा निम्न विषयहरु समाविष्ट हुनुपर्ने मैले देखेको छु:-
– वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको र संविधानसभाबाट निर्मित वर्तमान नेपालको संविधानले पनि अंगीकार गरेको लोकतान्त्रिक समाजवादको माध्यमबाटै नेपालको आर्थिक–सामाजिक रुपान्तरण गर्न हरेक नेपालीलाई सुखी,समृद्ध र समुन्नत बनाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्न पार्टीले तीन वटै तहका सरकारलाई अभिप्रेरित गर्नेछ ।
– समृद्धिमा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई प्रेरित गरिने छ।
ड्ड उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र आधारभूत तहमा नपुगेको वर्गलाई न्यायोचित वितरणको माध्यमबाट स्तरोन्नति गर्दै जाने कार्यमा राज्यलाई जिम्मेवार बनाइने नीति अबलम्बन गर्न लगाइने छ ।
– लोकतान्त्रिक समाजवादको लक्ष्य हासिल गर्न सञ्चार र विज्ञान तथा प्रविधिका अत्याधुनिक साधनहरुको उपयोग गर्न राज्यलाई प्रेरित गर्ने नीति लिइने छ । सूचना र प्रविधि आधारित उद्यम व्यवसायलाई प्रवद्र्धन गरिनेछ ।
– जयवायु परिवर्तनका प्रतिकूल असरबाट नेपाललाई जोगाउन वातावरण र दीगो विकास मैत्री विकास नीति अवलम्बन गर्न राज्यलाई प्रोत्साहित गरिने छ । जल तथा सौर्य विद्युतको अधिक उत्पादन गरी घरेलु इन्धन र सवारी इन्धनमा उपयोग गर्ने नीति अबलम्बन गर्न लगाइने छ । विद्युत निर्यात गरी मुलुकको अर्थतन्त्रलाई सबल बनाइने छ ।
– निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक बनाउने, कृषिको उत्पादन र उत्पादकत्व बढाउने, रसायनिक मल र विषादिरहित कृषि पद्धति अबलम्बन गर्ने, वर्णशंकर बीउको सट्टा रैथाने बीउ उपयोग गर्ने र रैथाने अर्गानिक बालीको व्यवसायिक खेती गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
– आर्थिक क्षेत्रमा सहकारी,विद्यालय र वन संरक्षणमा अबलम्बन गरिएका सामुदायिक प्रयासहरुलाई दिगो बनाइने छ ।
– कृषि,जलस्रोत,जनशक्ति,जडिबुटी र पर्यटन हाम्रो आर्थिक विकासको दीगो आधार भएकोले देशको प्राकृतिक तथा मानवीय स्रोत–साधनमा आधारित भएर आर्थिक नीति,योजना र कार्यक्रम तय गर्ने परम्परा थालनी गर्न प्रेरित गरिने छ ।
– हरेक पालिकाका पर्यटकीय स्थल, स्थानीय बासिन्दाका चाडपर्व,मेला जस्ता मौलिक संस्कृति र परम्परालाई सूचिबद्ध गरिनेछ र आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने कार्यक्रम तर्जुमा गर्न लगाइने छ ।
– नेपालमा ठूला उद्योगहरुको भन्दा साना तथा मझौला उद्योगहरुको संभावना राम्रो छ । स्वदेशी कच्चा पदार्थमा आधारित,आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगहरुको स्थापना गरी आन्तरिक रोजगारी अभिबृद्धि गराउने तथा विदेशी मुद्रा आर्जन गर्ने उद्योग खोल्ने नीति लिन राज्यलाई प्रेरित गरिने छ ।
– स्वरोजगारमुखी कार्यक्रमलाई प्रोत्साहन दिइने छ । वैदेशिक रोजगारीलाई सुरक्षित र सुव्यवस्थित गरिने छ ।
धर्म र संस्कृति संरक्षणका चार मन्त्र
नेपाल विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्परा अबलम्बन गर्ने नागरिकहरुको बसोबास भएको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृति, बहुभाषिक देश हो । हजारौ बर्षदेखिका मूल्य, मान्यता र परम्परा नेपालको पहिचानको रुपमा स्थापित छन् । नेपाली कांग्रेसले स्थापना कालदेखि नै यस्ता अमूल्य निधिहरुकोे संरक्षण र सम्बर्धन गर्दै धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धि गर्ने नीति अबलम्बन गर्दै आएको छ । नेपालको संविधानको अक्षर र भावना पनि यही हो । हाम्रो देशकोे शन्तिभूमि हिन्दु, बौद्ध,मुस्लिम,किराँत, जैन, शिख लगायत सबै धर्माबलम्बीहरुको साझा फूलबारी हो । धार्मिक र सामाजिक सद्भाव अभिबृद्धि गरी धार्मिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण तथा सम्ंबर्धन गर्ने कार्य हाम्रो पार्टीको उच्च प्राथमिकतामा रहनेछ ।
ड्ड नेपाल बहुजातीय,बहुधार्मिक,बहुसांस्कृति,बहुभाषिक देश भएकोले सबै जातजातिका मौलिक भाषा,धर्म, संस्कृति र परम्पराको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धन गर्दै धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धि गर्न नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नेछ ।
ड्ड नेपाली कांग्रेसको झण्डाको चार तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रतालाई विम्बित गर्दछ । नेपाली कांग्रेसको सरकारको नेतृत्वमा जारी भएको संविधानमा नै परम्परादेखि चलिआएका धर्म,संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व हुनेछ भन्ने किटान गरिएको कारणले राज्य धर्मकाप्रति निरपेक्ष हुन सक्दैन भन्ने संविधानले नै पुष्टि गरेको छ । त्यसैले नेपाल कांग्रेसले जनताको भावना अनुरुप धार्मिक स्वतन्त्रतालाई प्राधन्यता दिनेछ ।
ड्ड नेपालका हरेक जातजाति तथा समुदायका आ–आफ्नै भाषा,भेष–भूषा, मौलिक परम्परा तथा संस्कृति ,अद्धितीय र विशिष्ट छन् । काठमाडौंको नेवार संस्कृति, तराईका मैथली, भोजपुरी, अवधि, पहाडका ब्राह्मण,क्षेत्री,मगर्र ,गुरुड.,तामाड.,हिमालका शेर्पा,पूर्वका राई, लिम्बू तथा किराँतहरुको आ–आफ्नै मौलिक भाषिक तथा संस्कृतिक पहिचान रही आएको छ । नेपाली कांग्रेस वैयक्तिक स्वतन्त्रताको पक्षधर भएकोले यी सबै धर्म, भाषा, भेषभूषा, रीति, परम्परा र संस्कृतिको संरक्षण र विकास गर्न चाहन्छ ।
ड्ड नेपाली कांग्रेस र यसका भातृ संगठनहरुका हरेक तहका कार्य समितिका पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुलाई धार्मिक सद्भाव अभिबृद्धि गर्ने र स्थानीय संस्कृतिको संरक्षण तथा विकास गर्ने कार्यमा उत्प्रेरित गराइने छ ।
परराष्ट्र सम्बन्धको मूल आधार : राष्ट्रहितमा आधारित विदेश नीति
फरक राजनीतिक व्यवस्था भएका, क्षेत्रफल र जनसंख्याका हिसाबले विशाल र आर्थिक विकासका दृष्टिले विश्व शक्तिका रुपमा उदीयमान दुई छिमेकी मित्रराष्ट्र भारत र चीनको बीचमा रहेकोले नेपालले स्वतन्त्र, सन्तुलित र राष्ट्रहित केन्द्रित परराष्ट्र नीति अवलम्बन गर्नुपर्दछ । नेपाली कांग्रेसले राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिंदै नेपालको स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । राष्ट्रहित, असंलग्नता, पञ्चशील, संयुक्त राष्ट्रसंघको बडापत्र र कुटनीतिक सन्तुलन नेपाली कांग्रेसले स्थापनाकालदेखि अबलम्बन गर्दै आएका परराष्ट्र नीतिका आधार हुन् । त्यसैले निम्न प्रस्तावित बूँदाहरु नेपाली काग्रेसको परराष्ट्र नीतिको मार्ग निर्देशक सिद्धान्त हुनेछन्:-
– नेपालको परराष्ट्र नीतिको मूल आधार राष्ट्रहित हुनेछ । नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मूल नीति मानेर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई प्रेरित गर्ने नीति लिइने छ ।
– नेपालले छिमेकी मित्रराष्ट्रहरुसंगको सुसम्बन्धलाई उच्च प्राथमिकता दिंदै नेपालको सर्वाङ्गिण विकासमा बृहत्तर अन्तर्राष्ट्रिय समुदायसंगको कुटनीतिक सम्बन्धलाई विस्तारित र विविधीकरण गर्ने नीति लाई प्राथकिता दिने छ ।
– नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार वा परराष्ट्र नीति अवलम्बन गर्दा सार्वभौमिकता, बहुलवाद, स्वतन्त्रता, लोकतान्त्रिक प्रणाली, विधिको शासन, अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार तथा विश्वशान्तिका विश्वव्यापी मान्यताजस्ता लोकतान्त्रिक मूल्य,मान्यता र जनताका नैसर्गिक अधिकारलाई प्रमुख मापदण्ड निर्धारण गर्दै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धि,अभिसन्धि र अनुबन्धहरुलाई नेपाली कांग्रेसले परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रुपमा अनुशरण गर्नेछ ।
– नेपालको आर्थिक तथा सामाजिक विकासका लागि वैदेशिक सहयोग अभिबृद्धि गर्नु अपरिहार्य छ । तर नेपालले वैदेशिक सहयोगका सम्बन्धमा राष्ट्रिय सहमतिका आधारमा सबै दातृराष्ट्र तथा दातृ निकायहरुसंग समान मापदण्ड निर्धारण गर्ने नीति लिनुपर्दछ ।
– देशको आर्थिक विकासका लागि वैदेशिक सहयोग अभिबृद्धि गर्न आर्थिक कुटनीतिलाई नेपाली कांग्रेसले सर्वोच्च प्राथमिकता दिनेछ ।
– नेपालको विकासको निमित्त विदेशी सहयोग आवश्यक छ र त्यस्तो सहयोग समान मापदण्डका आधारमा स्वीकार गर्ने नीति लिइनुपर्दछ ।
– ऋण लिदा प्रतिफलको आँकलन गरेर लिनुपर्दछ । ऋण तिर्नुपर्ने भएकोले प्रतिस्पर्धाका आधारमा लिने र त्यस्तो ऋण सहयोगको उपयोगमा प्रतिस्पर्धाका आधारमा काम लगाउने नीति अबलम्बन गर्न सरकारलाई प्रेरित गरिने छ । द्धिपक्षीय वा बहुराष्ट्रिय अनुदान स्वीकार गर्दा पनि समान मापदण्डका आधारमा स्वीकार गर्ने नीति लिन लगाइने छ ।
– नेपालसंग कुटनीतिक सम्बन्ध भएका मुलुकहरु र नेपाली कांग्रेस आबद्ध रहेको सोसलिष्ट इन्टरनेशनलका सदस्य राष्ट्रका समान विचार राख्ने राजनीतिक दलहरुसंग जनस्तरको सम्बन्ध विकास गरिने छ ।
आदरणीय लोकतन्त्रप्रेमी साथीहरु,
मैले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड नेपाली कांग्रेस र यसको भातृ संगठन नेपाल विद्यार्थी संघमार्फत लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको यथार्थ सविनय अनुरोध गर्दछु । मेरो योग्यता, क्षमता, कार्य दक्षता, अनुभव र पार्टीले अवसर दिएको बेलामा मैले सम्पादन गरेका कार्यहरुका आधारमा महामन्त्री पदको गहन जिम्मेवारी निर्वाह गरी नेपाली कांग्रेसका कार्यकर्ताहरुले चाहनुभएको जस्तो तत्काल सम्बोधन गर्न सक्ने, निरन्तर पार्टी पङ्ति परिचालन गर्न सक्ने,कार्यकर्तालाई संरक्षण दिंदै पार्टी संगठनमा निरन्तर लाग्न उत्प्रेरित गर्ने मेरो प्रतिबद्धता र संकल्पलाई यहाँहरुले मूल्यांकन गरी मलाई महामन्त्री पदमा अमूल्य मत दिनुहुने विश्वास लिएको छु ।
जय नेपाल !
डा. प्रकाश शरण महत
उम्मेदवार
महामन्त्री
नेपाली कांग्रेस















प्रतिक्रिया