
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट ब्याक हुन लागेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय राजनीतिमा रहन आग्रह गरेका छन् ।
हिजो शनिबार राति बोहोराटारस्थित पौडेलको निवासमै पुगेर देउवाले सो आग्रह गरेका हुन् । शनिबार साँझ देउवाले पौडेलसँग करिब एक घण्टा छलफल गरेका थिए । छलफलका क्रममा देउवाले पार्टी नेतृत्वका लागि भइरहेको चुनावी प्रक्रियामा आफूलाई सहयोग गर्न तथा आफू सक्रिय राजनीतिबाट ब्याक हुने मनस्थिति परिवर्तन गर्न आग्रह गरेको बताइएको छ ।
‘शनिबार सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो,’ पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले देउाव–पौडेल भेटबारे पुष्टि गर्दै भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् देउवाले भन्नुभयो ।’
देउवासँगको भेटमा नेता पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका छन् । महाधिवेशनमा प्रतिस्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन उनले देउवामार्फत आग्रह गरेका छन् ।
१४औँ महाधिवेशनको दौरान सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति शनिबार जारी गरेर नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए । कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलको विज्ञप्तिमा पनि उल्लेख छ ।















प्रतिक्रिया