
काठमाडौं, २६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाने भएकी छिन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायत शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न आज उनी जुम्ला जान लागेकी हुन् ।
जुम्लामा राष्ट्रपतिले रू. ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम समेत छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानमा एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।
पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य छ ।
अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।















प्रतिक्रिया