
काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशका १० वटा प्रदेशहरूमा प्रदेश सम्मेलन गर्दै छ ।
सात वटा भौगोलिक र तीन वटा गैरभौगोलिक गरी १० वटा प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने छ ।
यस्तै विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । यद्यपि, प्रवास समितिको सम्मेलन आज शनिबार नहुने र छिट्टै सम्पन्न हुने बताइएको छ ।
सम्मेलनबाट ९ जना पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन हुने छन् ।
प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।
माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।















प्रतिक्रिया