आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

दैनिक नेपाल २०७८ मंसिर २४ गते १५:३२

काठमाडौं, २४ मंसिर । उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लन सफल भएको हो । मनाङले एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पारेको हो ।

अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको अपराजित सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे । आफिजले पहिलो हाफमा तथा दिनेशले दोस्रो हाफमा गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा फ्रेन्ड्सले अवसर पाए पनि सदुपयोग गर्न नसक्दा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । पुजन उपरकोटीको ब्याक पासलाई मनाङका गोलरक्षक विशाल सुनारले समातेपछि पाएको इनडाइरेक्ट फ्रिकिकमा नाथालिन जुडे गार्सियाको प्रहारलाई सरोज योन्जन लामाले ब्लक गदै मनाङको संकट टारे ।

२१औं मिनेटमा एडेलाजा सोमिडेको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिएपछि मनाङ अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको सिक्स यार्डको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दै बचाउँदा मनाङले खेलमा अग्रता लिन सकेन ।

४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले दिनेश राजवंशी हुँदै पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेका थिए ।

५४औं मिनेटमा अन्तज विष्टले वान भर्सेस वानको वानको अवस्थामा गरेको प्रहार सिधै फ्रेन्ड्सका गोलरक्षक राहुलको हातमा पुग्यो । ७२औं मिनेटमा अफिजको प्रहारलाई गोलरक्षक राहुलले डाइभ दिदै बचाए ।

७३औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गरेका थिए । ७७औं मिनेटमा अनिल महर्जनको क्रसमा रोनेल एनथोनी पउलको हेडर पोस्ट नजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता कम गर्नबाट चुक्यो ।

पराजित फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२औं स्थानमा झरेको छ । समान दुई अंक नै रहेपनि फ्रेन्ड्स गोलअन्तरमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबसँग पछि परेको छ ।

प्रतिक्रिया
सम्बन्धित