
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वसांसद डा.राजाराम कार्कीले कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएकाले राष्ट्रियता बलियो बनाउन भन्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लामो लडाई लडेको भए पनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हाबी हुँदै गएको आभास हुन थालेको गुनासो गरेका छन् ।
२०२९ सालमा भैरवी हाइस्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङको जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ०४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफूले सकेको सम्पूर्ण महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
४८ वर्ष पार्टीमा लामो संघर्ष गरेका कार्कीले आफू जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको उनको गुनासो छ । नेता कार्कीले पार्टीले चुनावको टिकट, ठगहरू, तस्करहरूले दिएको समेत आरोप लगाएका छन् ।
‘वास्तविक कांग्रेसीहरू, पार्टीमा लामो समय संघर्ष गरेका असली कार्यकर्ता र नेताहरूलाई नै पाखा लगाउने काम कांग्रेसले गर्दै आएको छ,’ उनले भने । कार्कीले सत्यवादी कांग्रेसीहरूलाई न्याय दिलाउनको लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए ।
कांग्रेस महामन्त्रीमा गगन थापा, बालकृष्ण खाण र डा. मिनेन्द्र रिजालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गरेका हुन् भने थापाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।















प्रतिक्रिया