८ कार्तिक २०८३, आइतबार

प्रदर्शनी मार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरियो, यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । केहीबेरपछि काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा शुरू हुँदैछ ।

दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरु पुग्ने क्रम चलिरहेको छ । कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाडौं आसपास जिल्लाका नेता, कार्यकर्ता आउने क्रम बढिरहेको छ । भृकुटीमण्डप आसपासका क्षेत्रमा चाप बढेको छ ।

भीड बढेपछि प्रदर्शनी मार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । राष्ट्रिय सभागृहबाट र पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक परे आसपासका अरु ठाउँमा समेत डाइभर्सन गर्ने महाशाखाको तयारी छ ।

महाशाखाकाअनुसार आज चाप व्यवस्थापनका लागि मात्रै ३५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटिएका छन् । झण्डा राखिएका गाडी, पार्टी अध्यक्ष र विदेशी पर्यवेक्षकका गाडीका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ ।

अन्य भीआईपीका गाडी राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका गाडी खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्व भाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्रमा राख्न थालिएको छ ।

यस्तै, महाधिवेशनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका तीनै जिल्लामा आवश्यकता अनुसार सुरक्षा सतर्कता बढाएको छ ।

यस्तो छ ट्राफिक व्यवस्थापन

उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिनुभयो । नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन् ।

उहाँले उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने पनि जानकारी गराउनुभयो । यसपालि नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधि र स्वतःस्फूर्त आउने व्यक्तिहरु मात्रै उपस्थित हुने जनाइसकेको छ । यद्यपि थोरै मानिसको भीड हुनेबित्तिकै उपत्यकाको सवारी आवागमनमा चाप पर्ने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको छ ।

कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ । त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ ।

महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।

यसरी सवारी रुट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवानसहित ९५ ट्राफिक प्रहरी खटाएको छ । अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिने छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।