९ कार्तिक २०८३, सोमबार

सर्लाहीमा भारतको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवन उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । सर्लाहीमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको दुई वटा विद्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ ।

जिल्लाको कविलासी–२ पिपरियामा ६९ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गरिएको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र लालबन्दी–१ नेत्रगञ्जमा १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको श्री जनता उच्च माध्यमिक विद्यालयको भवन शुक्रबार उद्घाटन गरिएको हो ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले उक्त विद्यालय भवनहरूको उद्घाटन गरिन् । सो कार्यक्रममा स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीको उपस्थिति थियो ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको थियो । यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो ।

हाल नेत्रगञ्जस्थित जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छन् ।

नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सृजना गर्नाका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

परियोजनाहरूमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।