शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वमन्त्री गुरुङले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

दैनिक नेपाल २०७८ मंसिर २२ गते १०:०४

काठमाडौं, २२ मंसिर । पूर्वराज्यमन्त्री रामबहादुर गुरूङले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस लमजुङका खम्बाका रूपमा चिनिदै आएका नेता गुरुङले आदिवासी जनजाती कोटातर्फ उम्मेदवारी दिने तयारी गरेका हुन् । २०२७ सालबाट नेपाली कांग्रेसको क्रियाशील राजनीतिमा लागेका गुरुङ ४ पटकसम्म मन्त्री बनिसकेका नेता हुन् ।

वि.स. २०४८ र ०५१ सालमा भएको निर्वाचनमा लमजुङ क्षेत्र नं. २ तथा २०५६ सालमा भएको निर्वाचनमा लमजुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसमाभा निर्वाचित नेता गुरुङ दुई पटक आपूर्ति राज्यमन्त्री, एक पटक श्रमराज्यमन्त्री र एक पटक जलस्रोत राज्यमन्त्री बनेका थिए ।

वि.स. २०२७ सालमा लमजुङ माविमा नेपाल विद्यार्थी संघका सभापति रहेका नेता गुरुङ २०३० सालदेखि ०३६ सालसम्म तत्कालीन गण्डकी छात्रा समितिको सदस्य रहेका थिए । ०४२ सालको सत्याग्रहमा सक्रिय सहभागिता जनाएका गुरुङले २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिमण्डलमा आपूर्ति राज्यमन्त्री बन्ने अवसर पाएका थिए ।

त्यसपछि ०५५ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको मन्त्रिमण्डलमा पनि आपूर्ति राज्यमन्त्री नै बनेका थिए । ०५६ सालमा स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी)को मन्त्रिमण्डलमा उनी श्रमराज्यमन्त्री तथा ०५७ सालमा पुनः गिरिजा प्रसाद कोईरालाको मन्त्रिमण्डलमा जलस्रोत राज्यमन्त्री बेनेका थिए ।

शिक्षक संघलगायत पार्टीको विभिन्न जनवर्गीय संगठनहरूमा आफूलाई क्रियायशील राख्दै आएका नेता रामबहादुर गुरुङ ०४८ सालयता निरन्तर रूपमा निर्वाचित महाधिवेशन प्रतिनिधि तथा कांग्रेस महासमिति सदस्य समेत रहँदै आएका छन् ।

पार्टीका अन्य नेताहरूलाई पनि अवसर सृजना गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता गुरुङले २०६४ र ०७० सालमा भएको संविधानसभाको निर्वाचन तथा ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारीमा कुनै दाबी गरेनन् । यद्यपि, संयोगवश उनले उम्मेदवारी दाबी नगरेकै निर्वाचनदेखि उनको निर्वाचन क्षेत्र नेकपा माओवादी र नेकपा एमालेको पोल्टामा परेको छ ।

२०६४ सालमा तत्कालनीन नेकपा माओवादीले जित हासिल गरेको उनको क्षेत्रमा ०७० र ०७४ को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको छ । पार्टी राजनीतिमा थप शक्ति आर्जन गर्दै आगामी निर्वाचनमार्फत आफ्नो गुमेको विरासत फिर्ता ल्याउने नेता गुरुङको लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित