
काठमाडौं, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षण गर्दै आपसी बन्धुत्वको भावना बढाउने विश्वास व्यक्त गरेकी छन् ।
विवाह पञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको उल्लेख गरेकी छन् ।
‘प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकीप्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ,’ भण्डारीको शुभकामना सन्देशमा लेखिएको छ, ‘प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ ।’
प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्दै भौगोलिक तथा सांस्कृतिकविविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वाआस राष्ट्रपति भण्डारीको छ ।
‘यस महान् पर्वले सम्पूर्ण नेपालीहरूमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउँदै समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा लेखिएको छ ।
त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा आज राम–सीता विवाह पञ्चमी मनाइँदै छ ।















प्रतिक्रिया