
काठमाडौं, २१ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट श्रमिक संगठन ‘श्रमिक समुदाय मोर्चा नेपाल’को पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
हिजो सोमबार पत्रकार सम्मेलन गर्दै मोर्चाले गत कात्तिक २७, २८ र २९ गते कैलालीमा पाँचौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र महत्वपूर्ण निर्णयहरु गरिएको जनाएको हो । संगठनले पाँचौं सम्मेलनमार्फत ‘श्रमिक संगठन दलित मुक्ति मोर्चा’बाट ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ नामाकरण गरेको पनि जनाएको छ ।
सुदुरपश्चिमको कैलालीमा भएको पाँचौं सम्मेलनले रामलाल विश्वकर्माको नेतृत्वमा ६१ संदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नवनिर्वाचित ६१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष रामलाल विश्वकर्मा, उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिवमा रामकुमार पासवान, कोषाध्यक्षमा जानकी बराह, सदस्यहरुमा टिकाराम नेपाली, गोपाल परियार, विर्खबहादुर बिक, पदम रसाइली, निशान बिक, बिक्रम नेपालीलगायत छन् ।
उत्पीडित श्रमिक समुदायको राजनीतिक र आर्थिक अधिकार प्राप्ति र जातमा आधारित सबैखाले विभेद र छुवाछुतको अन्त्य गर्न मोर्चा स्थापना भएको बताइएको छ । संगठनको राजनीतिक–रणनीतिक लक्ष्य वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मुलन र दलाल पूँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ ।















प्रतिक्रिया