
काठमाडौं, २० मंसिर । चलचित्र ‘लाखे’ का लागि १० जना कलाकार छनोट भएका छन् ।
निर्माण युनिटले हालै काठमाडौंको थापागाउँस्थित कान्तिपुर चलचित्र कलेजमा एक अडिसन गर्दै चलचित्रका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० जना कलाकार छानेको हो ।
‘चलचित्रको पात्र अनुसार अहिले अडिसन दिनेमध्यबाट १० जना कलाकार छानिएका छन्,’ चलचित्रका निर्देशक सम्राट बस्नेतले भने, ‘थप छानिने कलाकारको सूचि चलचित्रको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राममार्फत सार्वजनिक गरिनेछ ।’
चलचित्रका लागि अडिसनमार्फत पहिलो चरणमा छानिएका कलाकारहरूमा सह–नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रूपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए. परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छन् । २०० जना भन्दा बढी कलाकारले चलचित्रका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत कलाकारको अभिनय रहने चलचित्रका लागि मुख्य अभिनेत्री भने छनोट हुन बाँकी छ ।
ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयबस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम लागेको जुराइएको हो,’ निर्देशक बस्नेते भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको चलचित्रको छायाङ्कन पुसको दोस्रो साताबाट शुरू गर्ने तयारी छ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।















प्रतिक्रिया