
काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले मुलुकको न्याय सेवा प्रभावित हुनुमा वर्तमान गठबन्धन सरकार मुख्य दोषी रहेको बताएका छन् ।
देशलाई परमादेशबाट सरकार दिलाउने केव चोलेन्द्र शमशेर जबरा मात्रै नभएकाले उनलेमात्रै राजीनामा दिएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान नहुने उनको भनाइ छ । ‘अहिले देशमा न्याय सेवा प्रभावित भएको छ, यसको कारण वर्तमान सरकार नै हो,’ उनले भने ।
महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गर्दै आएको आन्दोलन गलत भएको समेत बताएका छन् । ‘नेपाल बारले जुन प्रकारले आन्दोलन गरिरहेको छ, यसले राम्रो सन्देश गएको छैन् । यसले न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ?,’ उनले प्रश्न गरे ।
‘गएको असार २८ गते परमादेश जारी गर्दा के त्यसमा प्रधानन्यायधीश मात्रै संलग्न हुनुहुन्थ्यो र ? बारले जुन आन्दोलन अगाडि बढाएको छ, त्यसलाई नेपाली जनताले सकारात्मक रूपमा लिएका छैनन् । राजीनामा दिनैपर्छ भने प्रधानन्यायधीशले मात्रै किन राजीनामा दिने ? विवादित कुरामा संलग्न सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्छ,’ उनले भने ।
विगतमा न्यायलयलाई प्रयोग गरेर गरिएका कर्तुतहरूको एकपछि अर्को गर्दै पर्दाफास भइरहेको भन्दै सचिव महासेठले भने, ‘कसैलाई बलीको बोको बनाएर, कसैको इच्छा होला प्रधानन्यायधीश बन्ने, कसैलाई यो सोच होला, न्यायालयले राम्रो काम गरेन भनेर हिजो आलोचना भएको थियो । हिजोको रहस्य अहिले खुलेको छ । परमादेश जारी गरेर गुण लगाएको र तिर्छु भनेर नेताहरूले भनेको पनि सुनियो । अब कसरी गुण तिर्नुहुन्छ, होला केहीलाई राजीनामा गराउने होला, कसैलाई प्रधानन्यायाधीश बनाउने होला । नेपाल बारले यो आन्दोलन फिर्ता लिनुपर्छ ।’
वर्तमान सरकार कुनै पनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी उनको छ । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिँदै भने, ‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ । यो सरकारले अहिलेसम्म कुनै पनि क्षेत्रमा उपलब्धि हासिल गरेको छैन । चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन । यो सरकार असफल सरकारको रूपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बुझेका छन् ।’















प्रतिक्रिया