
काठमाडौं, १९ मंसिर । २०७४ सालको आम निर्वाचनमा झापाको क्षेत्र नं ३ बाट विजयी राप्रपाका एकमात्र निर्वाचित प्रतिनिधि सभासदस्य राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री रहेका उनले पार्टीका प्रभावशाली अध्यक्ष कमल थापालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनका बुबा पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए । बुबाको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन् ।
राजनीति सँगसँगै उनले उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पनि गरेका छन् । उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर पराजित भएका थिए ।
२०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए । त्यस्तै उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ वडाध्यक्ष भएका थिए । राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए ।
२०६२–६३ को जनआन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए । घर ध्वस्त भएपछि उनी परिवारसहित त्यहाँबाट विस्थापित भएर बिर्तामोडमा बसोबास गर्दै आएका थिए ।
पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ । ०६२–६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा भने छोडेनन् ।
भाषणमा राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रबारे उनले कडा अभिव्यक्ति दिने गरेका छन् । केही महिना अघिदेखि मात्र उनी गोल्धापको घर मर्मत गरी त्यहीँ बसोबास गर्दै आएका छन् ।















प्रतिक्रिया