
काठमाडौं, १८ मंसिर । विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा आज बृहत् आमसभा गर्ने भएको छ ।
विवेकशील साझाले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग गरेको एकीकरणलाई घाषणा गर्न आज दिउँसो १ बजे आमसभा आयोजना गर्न लागेको हो । पार्टीले उक्त दुई वटा पार्टीसँग गत कात्तिक २८ गते एकीकरण गरेको थियो । उक्त एकीकरणलाई आज सभामार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण शुरू गरेको हो ।
आज हुने एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ । पार्टीले अध्यक्ष मिश्रको विचारभन्दा माथि देश दस्ताबेज पारित गरेसँगै स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्ने एजेन्डालाई अंगिकार गरेको छ ।
साथै पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत सङ्गठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम लिएर अघि बढेको छ । आज गरिने एकीकरण घोषणा सभालाई पार्टीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेको छ ।
एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता पाठकको भनाइ छ ।















प्रतिक्रिया