शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘हालसम्म नेपालमा ओमिक्रोन पुष्टि भएको छैन, तर सावधानी अपनाऔं’

दैनिक नेपाल २०७८ मंसिर १४ गते १२:११

काठमाडौं, १४ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि नभएको बताएको छ ।

नयाँ भेरियन्ट नेपालमा भित्रिनसकेको भए पनि संसारभर फैलिने क्रम तीव्र बनेकाले सावधानी अपनाउन मन्त्रालयले सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमूना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ ।

पहिले भाइरसका उत्परिवर्तित भेरियन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमूना पठाइने गरिएको थियो । तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरसको आनुवंशिक पहिचान गर्न सकिने उनको भनाइ छ ।

‘अहिले पछिल्लो समयलाई दृष्टिगत गरेर हामीले ठूलो सङ्ख्यामा नमूनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ,’ उनले भने, ‘अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ । नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन ।’

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराइने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित