बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वभरि तीब्र रुपमा फैलिने जोखिम

दैनिक नेपाल २०७८ मंसिर १४ गते १०:३०

लण्डन, १४ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै संक्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले बताएको हो ।

डब्लुएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले गरिब देशहरुमा खोपको पहुँच पुर्‍याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन् । खोपले नै कोरोना भाइरसलाई जित्न सकिने हुँदा सबैमा पहुँच पुग्नुपर्ने उनले बताउँदै आएका छन् ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ। यस्तै यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ ।

भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ। तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् र दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको बताएको छ ।

डब्लुएचओले सावधानीका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा ओमिक्रोन भेरियन्टले महामारीलाई गम्भीर चिन्ताको अवस्थातर्फ लैजाने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित