शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना गरिँदै

दैनिक नेपाल २०७८ मंसिर १३ गते १५:२१

काठमाडौं, १३ मंसिर । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।

निर्देशक समाज र युनडीपीद्धारा जारी सूचना अनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने छ ।

‘फिल्मले जात प्रथा र यो प्रथाबाट सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतियोगितामा हरकोही प्रतियोगीले सहभागी हुन पाउने छन् । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्नेछन् । तर सामुदायिक भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ ।

इच्छुक सहभागीले आउँदो डिसेम्बर महिनाको १० तारिखसम्म भिडियो निर्धारित ठेगानामा पठाइसक्नुपर्ने छ । यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने छ ।

सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुने छन् । प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तरक्रिया र प्रभावका आधारमा मूल्याङ्कन हुने युनडीपीले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित