बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ केशव पौडेललाई प्रदान गरिने

दैनिक नेपाल २०७८ मंसिर १३ गते १२:०६

पत्रकार केशव प्रसाद पौडेल

काठमाडौं, १३ मंसिर । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।

विजयबाबु खत्रीको दशौं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनी न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन् । काठमाडौं–३२, कोटेश्वरका स्थायी वासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए । खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरुवाती गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् ।

सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी ३४ हजार रुपैयाँ छ । विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित