शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अफ्रिका हुँदै नेपाल आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

दैनिक नेपाल २०७८ मंसिर १२ गते ८:०३

काठमाडौं, १२ मंसिर । सरकारले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै दक्षिण अफ्रिका भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै भेरिअन्ट अफ कन्सर्न घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताएका छन् ।

दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन पठाउने तयारी भएको छ । पोजिटिभ आयो भने नमूनाहरूको सिक्वेन्सिङ पनि गर्ने तयारी छ ।

नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन । विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ ।

हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतवार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने प्रवक्ता पौडेलले बताए ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले आइतवारको बैठक नियमित भए पनि दक्षिण अफ्रिकामा देखिएको भेरिअन्टबारे छलफल हुने सम्भावना रहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित