शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डब्ल्यूएचओले भन्यो– दक्षिण अफ्रिकामा भेटिएको ओमेक्रोन भेरियन्ट ‘चिन्ताजनक’

दैनिक नेपाल २०७८ मंसिर ११ गते १२:२४

काठमाडौं, ११ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिका भन्दा धेरै गुणा संक्रामक रहेको भन्दै चासो र चिन्ता व्यक्त गरेको छ ।

दक्षिण अफ्रिकामा देखिएको पछिल्लो भेरियन्टलाई ओमेक्रोन नामाकरण गरिएको जानकारी दिँदै डब्ल्यूएचओले यो भेरियन्ट चिन्ताजनक रहेको उल्लेख गरेको हो ।

ओमेक्रोन भेरियन्ट भाइरसका विभिन्न भेरियन्टबीचको म्युटेशन (उत्परिवर्तन) बाट बनेको र प्रारम्भिक प्रमाणहरुले यसबाट संक्रमणको जोखिम उच्च हुने देखाएको डब्ल्यूएचओले जनाएको छ ।

नोभेम्बर २४ मा पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्टको संक्रमण बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै अमेरिकासहितका विभिन्न देशले दक्षिण अफ्रिकाबाट हुने वा त्यहाँ गरिने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

अमेरिकाले दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बावे, नामिबिया, लिसोथो, एस्वातिनी, मोजाम्बिक र मालावीबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । सोमबारदेखि यो नियम लागू हुने छ ।

यस्तै बेलायतले पनि दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, बोत्स्वाना, लिसोथो र एस्वातिनीबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ । यसैगरी युरोपियन युनियनले पनि दक्षिण अफ्रिकासहितका देशबाट हुने उडानमा प्रतिबन्ध लागू गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित