भरतपुर, १० मंसिर । एमालेको दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशनस्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ ।
आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो ।
बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।
महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको रावलले बताएकी छिन् ।
चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।
चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ ।
महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरूको व्यापक सहभागिता हुन सुरु भइसकेको छ ।
चितवनका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरिबाट पाँच लाख मानिसहरू नदीकिनारमा आउने बताएकी छिन् ।
महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरू चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।













प्रतिक्रिया