बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

देशभरिबाट तीन हजार पाँच सय महाधिवेशन प्रतिनिधि चयन

दैनिक नेपाल २०७८ मंसिर ९ गते ११:२१

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा धेरै महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अहिलेसम्म तीन हजार ५ सय १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।

कांग्रेसको विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ ।

सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिए ।

ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७ सय ८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । यसबाहेक पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बर्दिया, बाँके, सप्तरी, सिरहामा आज क्षेत्रीय अधिवेशन हुँदैछ । सर्लाहीमा पनि महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृत खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित