बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री देउवाले एमालेको महाधिवेशनलाई सम्बोधन गर्ने

दैनिक नेपाल २०७८ मंसिर ९ गते ११:१७

भरतपुर, ९ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार चितवनको नारायणगढको नारायणी नदी किनारमा हुने एमालेको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्नेछन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देउवालाई सम्बोधन गर्न निम्तो पठाएका छन् ।

देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने कार्यक्रम रहेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । देउवा हेलिकोप्टरबाट आउनेछन् ।

नारायणी नदी किनारमा हुने एमालेको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे फर्कने कार्यक्रम छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुरले एमालेको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन ।

अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा एमालेले पाँच लाख नेता कार्यकर्ता सहभागी हुने दाबी गरेको छ । बन्दसत्र सौराहामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित