
काठमाडौं, ७ मंसिर । धेरैको घरमा दशैँको रमझम चलिरहँदा काठमाण्डूको कौशलटार बस्ने ४० वर्षीय प्रकाश घिमिरे भने कोरोना भाइरसको सङ्क्रमणका कारण बिरामी थिए ।
उनमा कोभिड पुष्टि भएको केही दिनपछि घिमिरेकी ७९ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र आठ वर्षीय छोरामा पनि सङ्क्रमण देखियो ।
घिमिरेलाई दोहोर्याएर सङ्क्रमण भएको हो । कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको पाँच महिना नबित्दै आफूमा सङ्क्रमण पुष्टि भएको उनी बताउँछन् । ‘घरमा वृद्ध बुवाआमा र बच्चा भएकाले म निकै सतर्क बस्थेँ । महामारी शुरू भएदेखि नै साथीहरूसँग बसेका खाजा खाएको याद छैन । झन् दुवै डोज खोप लगाए पनि केही समयलाई ढुक्क हुन्छ भन्ने थियो तर भएन । झन् दुई पटक सङ्क्रमण भयो,’ घिमिरेले भने ।
दुवै मात्रा खोप लगाउनु र पछाडिको सङ्क्रमण अनुभव भने भिन्न रहेको उनको कथन छ । ‘पहिलो चोटि हुँदा सामान्य टाउको दुखाइ मात्र थियो । दोस्रो पटकका लक्षणहरू केही गाह्रो बनायो,’ उनले भने।
उनका अनुसार प्रारम्भिक पाँच दिनसम्म शरीरको तापक्रम १०२ डिग्री फरेन्हाइटभन्दा बढी पुगेको थियो । त्यस्तै छैटौँ दिनदेखि खोकी उग्र भयो । शरीर फतक्क गल्यो र टाउको अत्यधिक दुखेको थियो ।
अस्पताल नै भर्ना हुनुपर्ने स्थिति नआए पनि आफूमा भएका शारीरिक परिवर्तनहरूले गाह्रो बनाएको उनले बताए । उनी नियमित काममा फर्किएको करिब २० दिन भयो । सङ्क्रमणबाट मुक्त भए पनि शरीरमा थकान उस्तै रहेको, केही कुरामा राम्ररी ध्यान दिन नसकेको, सुतिराख्न मन लाग्ने र ससाना कुराहरू बिर्सने अनुभव सुनाउँछन् ।
खोपको दुवै मात्रा लगाए पनि सङ्क्रमण भएको वा सङ्क्रमणका कारण स्वास्थ्य समस्याहरू देखिएका प्रकाश घिमिरे एक्ला होइनन् ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कुल बिरामीमध्ये ८३ प्रतिशत कोभिड–१९ विरुद्ध दुवै खोप लगाएकाहरू छन् । त्यस्तै १७ प्रतिशत सङ्क्रमित खोप नलगाएकाहरू भएको अस्पतालका प्रवक्ता डा. नवराज गौतमले जानकारी दिए ।
‘दुवै खोप लगाएका सङ्क्रमितहरू सामान्यदेखि गम्भीर लक्षण पनि देखिएका छन् । कोही आईसीयूमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।
कोभिड खोपले बनाएको एन्टिबडी कति प्रभावकारी ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपले सर्वसाधारण मानिसको शरीरमा विकास गर्ने एन्टिबडी कति समय प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धान गरेको थियो । उक्त अध्ययनले ती एन्टिबडी ९० दिनपछि कमजोर बन्दै जाने देखाएको छ । अनुसन्धानमा संलग्न डा. विष्णु मरासिनीका अनुसार काठमाण्डू भित्रका १ हजार ८०० जनामा अनुसन्धान गरिएको हो ।
‘हामीले समुदाय स्तरका खोप लगाएका, नलगाएका र एक मात्र मात्रा लगाएकाहरूमा अध्ययन गरेका हौँ । दुवै मात्रा खोप लगाएकाहरूमा पनि खोप लगाएको ९० दिन पछि एन्टिबडी घट्दै गएको देखियो,’ डा. मरासिनीले भने ।
सबै उमेर समूहका मानिसको शरीरमा खोपले विकास गरेको एन्टिबडीको प्रभावकारिता कम हुने देखिएको हो ।
‘धेरैले खोप लगाएको छ महिना नबितेकाले एन्टिबडीको प्रभाव शून्यमा झरिसकेको छैन । अध्ययन जारी छ। अध्ययनमा सहभागी केही मानिसमा फलोअप गर्छौँ,’ उनले भने ।
कोभिड खोप लगाएपछि सङ्क्रमण हुन्छ कि हुँदैन ?
नेपालमा ५० प्रतिशतभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमणले नै प्रतिरक्षा प्रणाली सबल बनाएको र खोप लगाएका मानिसमा पनि कोभिड–१९ विरुद्ध एन्डिबडी बनेको सङ्क्रामक रोगविज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।
सङ्क्रमण भएको वा खोप लगाएको छ महिनासम्म एन्टिबडी सक्रिय हुने भएकाले सङ्क्रमणको जोखिम कम हुने वा सङ्क्रमण भए पनि सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल नबन्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।
नेपालमा खोप लगाउन शुरू भएको ६ महिना र दोस्रो लहर सकिएको पाँच महिनाजति भएकाले दुवै मात्रा खोप लगाएकाहरूमा पनि सङ्क्रमण देखिएको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले यही नोभेम्बर ७ देखि १४ सम्म भएको बैठकपछि चीनमा बनेका भेरोसेल र सिनोभ्याक खोपहरू ६० वर्षमाथिका मानिसमा थप मात्रा दिन सुझाव दिइएको छ ।
‘खोप लगाउनुको अर्थ सङ्क्रमण हुँदै नहुनु होइन,’ अधिकारीले भने, ‘नेपालको हकमा दोस्रो लहर सकिएको कम्तीमा चार महिना त भयो । अबको एक दुई महिनामा त समुदाय स्तरको कोरोना भाइरसविरुद्ध प्रतिरक्षा प्रणाली धेरै मात्रामा कम हुने सम्भावना छ ।’ खोप लगाएकाहरू आईसीयू र भेन्टिलेटरमै पुग्ने वा मृत्यु हुने सम्भावना भने कम रहने अधिकारीको दाबी छ ।
अधिकारीका अनुसार खोप लगाउँदैमा सबैमा प्रतिरक्षा प्रणाली विकास नहुन सक्छ । खोप लगाउँदा प्रयोग गरिने साधन र लगाउने प्रक्रिया सही भए मात्र प्रभावकारिता उच्च रहने उनको भनाइ छ । अनि सम्बन्धित मानिसको प्रतिरक्षा क्षमताले पनि सङ्क्रमणको जोखिम निर्धारण गर्ने उनले बताए ।
एन्टिबडी खस्किँदाको कसलाई कति जोखिम ?
खोप लगाएका मानिसमा पुनः सङ्क्रमण देखिए पनि प्रायः धेरै जनामा सामान्य लक्षण, न्यूनमा गम्भीर स्वास्थ्य समस्या र अपवाद मृत्युको घटना देखिएको चिकित्सकहरूको दाबी छ । गम्भीर स्थितिमा पुग्ने र मृत्यु हुनेमा वृद्धावस्था धेरै रहेको अर्का सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनले बताए ।
‘उमेरले ६० वर्ष माथिकाहरूको मृत्यु भएको देखिन्छ । सङ्ख्यात्मक हिसाबमा मृत्युदर धेरै छैन, तर जति सङ्क्रमितले खोप लगाउँदालगाउँदै पनि ज्यान गुमाएका छन् ती वृद्धवस्थाका हुन्,’ पुनले भने ।
विकसित देशहरूमा उक्त जोखिम न्यूनीकरणका लागि बूस्टर डोजको परिकल्पना भएको छ ।
एन्टिबडी खस्किँदै जाँदा मानिसको शरीरको दोस्रो ‘प्रतिरक्षात्मक पङ्क्ति सक्रिय हुने सम्भावना रहने डा. पुन बताउँछन् । फेरि सङ्क्रमण भएको अवस्थामा शरीरका ‘मेमोरी सेल’ले सङ्क्रमणविरुद्ध एन्टिबडीहरू बनाउँछन् ।
‘जोखिम कम भए पनि बूस्टर डोजको बारेमा छलफल गर्नुपर्ने स्थिति नेपालमा पनि आइसक्यो । यद्यपि शुरूमा हरेक नागरिकलाई दुई मात्रा खोप दिनु प्राथमिकताको विषय हो । साथै एन्टिबडीको प्रभावकारिता घट्दै गएको अवस्थामा विकल्पबारे विमर्श हुन आवश्यक छ ।’
नेपालमा पनि खोप लगाएको निश्चित समय बल्ल पूरा हुन थालेकाले बिस्तारै स्वास्थ्य जटिलताका समस्याहरू देखिन सक्ने उनको धारणा छ ।
विश्व स्वास्थ्य सङ्गठनले यही नोभेम्बर ७ देखि १४ सम्म भएको बैठकपछि चीनमा बनेका भेरोसेल र सिनोभ्याक खोपहरू ६० वर्षमाथिका मानिसमा थप मात्रा दिन सुझाव दिइएको छ ।
डा. प्रभात अधिकारीले वृद्धावस्थाबाहेक क्यान्सरका बिरामी, स्टेरोइड नियमित खाइरहेका बिरामी, अङ्ग प्रत्यारोपण गराएका मानिस, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू जोखिममा छन् ।
‘विकसित देशहरूमा बुस्टर डोज यिनै समूहमा पर्ने र अग्र पन्थीमा रहेकाहरूका लागि उपलब्ध गराउने कुरा भइरहेको हो,’ अधिकारीले भने ।
खोप लगाएका पछि सङ्क्रमण भएका मानिसमा कस्ता लक्षण ?
खोप लगाएपछि पनि सङ्क्रमण भएका अधिकांश मानिसमा केही दिनसम्म ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको छ । धेरैको अवस्थामा सुधार आए पनि अपवादमा अवस्था जटिल हुने र मृत्युसम्म हुने देखिएको डा. पुनले बताए ।
स्वास्थ्य जटिल हुनेहरूमा श्वासप्रश्वासको समस्या बढी देखिएको छ । ‘लक्षणहरू पहिलेभन्दा फरक छैनन् । खोप लगाएकाहरू केही दिनको अप्ठेरोपछि समस्याबाट उन्मुक्त भएको पाइएको छ,’ उनले भने ।
‘जसलाई धेरै गाह्रो भयो उहाँहरूको छाती बिग्रिएको देखिन्छ । त्यसैले अस्पताल भर्ना हुनेहरूको फोक्सो जोगाउनु नै महत्त्वपूर्ण विषय हो ।’ बीबीसीबाट















प्रतिक्रिया