मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज

दैनिक नेपाल २०७८ मंसिर ६ गते ११:३२

काठमाडौं, ६ मंसिर । नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग मिलेर दुईदिने फिल्म फेस्टिभल गर्ने भएको छ ।

कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो । कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागिएको जानकारी दिएका छन् ।

‘गत साल पनि हामीले महामारीकै बीचमा पनि भर्चुअल माध्यममार्फत फेस्टिभल गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’

दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइने छ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् ।

नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रूपमा चल्ने छन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल रामराजा दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित