शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामा झरेको पैसा टिप्नेको भीडले सडक जाम

दैनिक नेपाल २०७८ मंसिर ५ गते ११:५८

क्यालिफोर्निया, ५ मंसिर । अमेरिकाको एक राजमार्गमा शुक्रबार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भीड लागेको थियो ।

सामाजिक सञ्जालमा प्रेषित भिडियोहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन् । यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो ।

प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो । प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ ।

एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ । ‘जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,’ राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने ।

‘सडकभरि नोटहरू उडिरहेका थिए ।’ डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ ।

‘मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,’ उनले भिडियोमा भनेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो । राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ ।

बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन् । ‘राजमार्गमा टीभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,’ उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन् ।

शुक्रबार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ । ‘मानिसहरूले थुप्रै पैसा ल्याइरहेका छन्,’ राजमार्ग प्रहरीका कुर्टिस मार्टिनले भने । ‘मानिसले थुप्रै पैसा टिपेका रहेछन् ।’ बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित