महेन्द्रनगर, १ मंसिर । भारतबाट सुन, बहुमूल्य पत्थर तथा लाखौँ रूपैयाँ चोरी गरेर ल्याएको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाका अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलाली चिसापानी बस्ने ३५ वर्षीया विष्णु शाही छिन् ।
भारतको बेंगलोरबाट नगद तथा गरगहनाहरू चोरी गरी ल्याएको भन्ने विशेष सूचनाको आधारमा उनीहरूको घरमा प्रहरीले खानतलासी गरेको थियो । लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, विदेशी मुद्रा, पत्थर र चार थान ल्यापटप बरामद गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४३ हजार ९ सय भारतीय रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच बरामद गरिएको छ ।
क्यानडियन डलर दुई हजार ८१०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल एक, दुबई दिराम १३०, चिनिया युयान १६ बरामद गरेको जनाइएको छ ।
एक हजार ९९८ ग्राम पत्थर पनि बरामद गरिएको छ । सुनजस्तो देखिने पदार्थका गरगहना पत्थर सहित १,४७१।१८ ग्राम, बिना पत्थर ४३९.८९ ग्राम, विभिन्न रंगका पत्थरहरू १ किलो ९९८.४१ ग्राम रहेको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।















प्रतिक्रिया